अस्वस्थ अक्षर पटेल टी२० सीरीजबाट बाहिर

IMG-20251216-WA0068

लखनऊ: दक्षिण अफ्रिकाविरुद्ध जारी ५ वटा टी२० म्याचको सीरीजको अन्तिम २ वटा म्याच अघि भारतीय टीमलाई ठूलो झट्का लागेको छ। स्टार अलराउण्डर अक्षर पटेल अस्वस्थताले गर्दा सीरीजबाट बाहिर भएका छन्। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले सोमवार यस खबरको पुष्टि गर्दै अहिले अक्षर लखनऊमा टीमसँग रहेको अनि मेडिकल टीमको निरीक्षणमा रहेको बताएको छ। अक्षरको स्थानमा चयन समितिले शाहबाज अहमदलाई टीममा सामेल गरेको छ। दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टी२० म्याचमा अक्षर खेलेका थिएनन्। त्यस समय कप्तान सूर्यकुमार यादवले उनको स्वास्थ्य ठीक नरहेको अनि जसप्रीत बुमराह निजी कारणहरूले गर्दा घर फर्किएको बताएका थिए। अहिले बीसीसीआई-ले लखनऊ र अहमदाबादमा खेलिने अन्तिम २ वटा म्याचबाट अक्षर बाहिर भएको स्पष्ट गरेको छ। अक्षर बाहिर भएपछि शाहबाज अहमदले टीममा स्थान पाएका छन्। ३१ वर्षीय अलराउण्डरले भारतको निम्ति २०२२-मा पदार्पण गरेका थिए। त्यसपछि उनी टीमबाट बाहिर रहेका थिए। शाहबाजले अहिलेसम्म २ वटा टी२० इण्टरनेशनल म्याच खेलेर २ विकेट लिएका छन्। यसरी उनले ३ वटा वनडे इण्टरनेशनल म्याच खेलेर ३ विकेट हासिल गरेका छन्। भारत र दक्षिण अफ्रिकाबीच जारी ५ वटा म्याचको सीरीजमा आयोजक टीम अहिले २-१-ले अघि रहेको छ। सूर्यकुमारको कप्तानीमा रहने भारतीय टीमले सीरीजको पहिलो अनि तेस्रो म्याच जितेको छ। सीरीजको चौथो टी२० म्याच लखनऊको इकाना स्टेडियममा खेलिनेछ। सीरीजको अन्तिम म्याच १९ दिसम्बरमा अहमदाबादमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement