काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन्। उनले राजशाही वारियर्सबाट बीपीएल खेल्न लागेको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन्।
राजशाही वारियर्सले आइतबार सन्दीपलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। राजशाही वारियर्सका अधिकारीले सन्दीपको लामो अनुभवले यस सिजन टोलीको उपाधि जित्ने अभियान पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
राजशाही वारियर्सले बीपीएल सुरु हुनु केही समयअघि सन्दीपलाई अनुबन्ध गरेको जानकारी दिएको हो। सन्दीपले यसअघि पनि बीपीएल खेलिसकेका छन्। उनले यसअघि सिलहट सिक्सर्सबाट बीपीएल खेलेका थिए। २०१८/१९ को संस्करणमा सन्दीपले ६ खेलमा चार विकेट लिएका थिए। राजशाही वारियर्सले बीपीएलमा यही संस्करणदेखि पुनरागमन गर्न लागेको हो। अनुभवी स्पिनर सन्दीपको आगमनले टोलीको बलिङ आक्रमण सशक्त हुने वारियर्सको विश्वास छ। सन्दीपले राजशाही वारियर्समा अनुबन्ध हुन पाउँदा खुसी र सम्मानको अनुभूति गरेको बताएका छन्। ‘राजशाही वारियर्सको प्रतिनिधित्व गर्न पाउनु मेरा लागि गर्वको विषय हो। अपार साथ, सहयोग र समर्थनका लागि सबैप्रति आभरी छु’, सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका सन्दीपले नेपालको जर्सीमा ६८ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल खेल्दै एक सय २९ विकेट लिएका छन्। सन्दीप लामिछानेको कप्तानीमा विराटनगर किङ्सले एनपीएलको प्लेअफसम्मको यात्रा तय गरेको थियो। एनपीएलको उत्कृष्ट बलर चुनिएका सन्दीपले आठ खेलमा १७ विकेट लिँदै सुदूरपश्चिम रोयल्सका अभिनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्लसँगै संयुक्त रूपमा पहिलो स्थानमा रहेका थिए।
राजशाही वारियर्सले सन्दीपसँगै नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी न्युजिल्यान्डका अलराउन्डर जिमी निसमलाई पनि अनुबन्ध गरेको छ। वारियर्समा मोहमद नवाज, साहिबजादा फरहान, हुसेन तलत, बिनुरा फर्नान्डो, दुसान हेमन्था र जहाँदाद खान आवद्ध भएका छन्। यस्तै स्थानीय खेलाडी तनजिद हसन तमिम, नजमुल हुसेन, शान्तो मुस्फिकुर रहिम र अकबर अली सहभागी छन्।










