जलदापाड़ा: जलदापाड़ा राष्ट्रिय उद्यानमा अचानक वृहद् खोजी अभियान सुरु गरिएको छ। सम्पूर्ण राष्ट्रिय उद्यान क्षेत्रलाई घेराबन्दी गर्दै राज्य प्रहरीको सशस्त्र बल, र्यापिड रेस्पोन्स टिम (आरआरटी) र डग स्क्वायडको संयुक्त टोली परिचालन गरिएको छ।
आइतबार बिहान गुप्त सूचनाको आधारमा अधिकारीहरूले जंगल तथा जंगलसँग जोडिएका क्षेत्रहरूमा खोजी अभियान शुरु गरेका हुन्। मुख्य रूपमा कोदालबस्ती, चिलापाटा, नीलपाड़ा र मदारीहाट—यी चारवटा रेञ्ज क्षेत्रमा सघन तलासी भइरहेको छ।
प्राप्त जानकारीअनुसार अवैध शिकारीहरूले यस क्षेत्रमा आफ्नो ठेगाना बनाएको आशंका गरिएको छ। सूचनापछि सुरक्षा निकायहरू तुरुन्त सक्रिय भई खोजी अभियानमा जुटेका हुन्। साथै, क्षेत्रभित्र तथा बाहिर आवागमन गर्ने सवारीसाधनहरू पनि कडाइका साथ जाँच गरिँदैछ।
जलदापाड़ा राष्ट्रिय उद्यानकी डीएफओ परवीन कासोवानले भनिन्, “मुख्य रूपमा चारवटा रेञ्ज क्षेत्रमा खोजी अभियान चलिरहेको छ। जंगलसँग जोडिएका क्षेत्रका बासिन्दालाई पनि सचेत गराइँदैछ। यदि कसैले अवैध शिकारी वा कुनै शंकास्पद गतिविधि देखेमा तुरुन्तै हामीलाई जानकारी गराउन आग्रह गर्दछौं।”
उल्लेखनीय छ, करिब एक साता अघि वन्यजन्तु तस्करी रोक्न तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वन विभागले ठूलो कदमस्वरूप इन्टिग्रेटेड कन्ट्रोल रूम सञ्चालनमा ल्याएको थियो।









