एन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सन मासिफ आरोहण
गान्तोक/एन्टार्कटिका: सिक्किमकी प्रतिष्ठित पर्वतारोही मनीता प्रधानले एन्टार्कटिकाको सबैभन्दा अग्लो शिखर माउन्ट भिन्सन मासिफ सफलतापूर्वक आरोहण गर्दै इतिहास रचेकी छन्। यस उपलब्धिसँगै उनले भारतीय पर्वतारोहणको इतिहासमा नयाँ अध्याय थपेकी छन् र विश्वप्रसिद्ध ‘सेभेन समिट्स’ चुनौती पूरा गर्न अब केवल एक शिखर मात्र बाँकी रहेको छ।
माउन्ट भिन्सन मासिफको यो सफल आरोहण मनीता प्रधानको महत्वाकांक्षी ‘प्रोजेक्ट सेभेन समिट्स’ अन्तर्गतको महत्वपूर्ण हिस्सा हो, जसअन्तर्गत सातै महादेशका सर्वोच्च शिखरहरू आरोहण गर्ने लक्ष्य लिइएको छ। यस सफलतासँगै उनले अहिलेसम्म छ महादेशका सर्वोच्च शिखरहरूमा आरोहण पूरा गरिसकेकी छन्। अब अष्ट्रेलियाको माउन्ट कोसिउस्को मात्र बाँकी रहेको छ।
पर्वतारोही प्रधानले १ डिसेम्बर २०२५ मा राजधानी गान्तोकबाट आफ्नो अभियान शुरु गरेकी थिइन्। न्यूयोर्क, पुन्टा एरेनास हुँदै एन्टार्कटिकाको प्रमुख पर्वतारोहण आधार शिविर युनियन ग्लेशियर क्याम्प पुगेर उनी माउन्ट भिन्सन बेस क्याम्पसम्म पुगेकी थिइन्। १० डिसेम्बरमा बेस क्याम्पबाट शिखरतर्फ अन्तिम आरोहण सुरु भएको थियो।
-३१ डिग्री सेल्सियससम्म झरेको तापक्रम, तीव्र हावा र ठाडो ढलानजस्ता अत्यन्त कठिन परिस्थितिका बाबजुद मनीता प्रधानले असाधारण साहस, सहनशीलता, टिमवर्क र दृढ संकल्पको प्रदर्शन गरिन्। कयौँ दिनको कठोर संघर्षपछि उनले १२ डिसेम्बर २०२५ को राति ८:३० बजे (स्थानीय समय) माउन्ट भिन्सन मासिफको शिखर सफलतापूर्वक छोइन्। यससँगै उनी एन्टार्कटिकाको सर्वोच्च शिखरमा पुग्ने थोरै भारतीय महिलामध्ये एक बनेकी छन्।
शिखर तथा बेस क्याम्पमा उनले सिक्किम राज्य स्थापनाको ५०औँ वर्षगाँठको अवसरमा तयार गरिएको झण्डा फहराइन्, जसले आफ्नो मातृभूमिप्रतिको गहिरो सम्मान र गर्व प्रकट गरेको छ।
आफ्नो पर्वतारोहण यात्रामा निरन्तर सहयोग र प्रोत्साहन प्रदान गरेकोमा मनीता प्रधानले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक आभार व्यक्त गरेकी छन्। साथै, उनले आफ्नो परिवार, साथीभाइ तथा शुभेच्छुकहरूलाई निरन्तर हौसला र विश्वासका लागि धन्यवाद दिएकी छन्। उक्त जानकारी सिक्किम भेट्रन्स माउन्टेनियरिङ एसोसिएशनका सदस्य बब्बू तामाङले दिएका हुन्।

बब्बू तामाङका अनुसार, माउन्ट भिन्सन मासिफको सफल आरोहण मनीता प्रधानका लागि मात्र नभई सिक्किम र सम्पूर्ण भारतका लागि गर्वको विषय हो। ‘सेभेन समिट्स’ परियोजनाअन्तर्गत यो उनको छैटौँ सफल आरोहण हो। आफ्नो साहस, समर्पण र अटुट इच्छाशक्तिका माध्यमबाट उनले विशेषगरी युवा महिला पर्वतारोहीहरूलाई आफ्ना सपना पछ्याउन र सीमाहरू तोड्न प्रेरित गरिरहेकी छन्।









