नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तुहरूमा लगाएको ५० प्रतिशत भन्सार शुल्कको विरोध गर्दै अमेरिकाका तीन प्रभावशाली सांसदहरूले कांग्रेसमा प्रस्ताव दर्ता गरेका छन्। उनीहरूले भारतप्रति अपनाइएको यो “गैर-जिम्मेवार भन्सार नीति” ले दुई देशबीचको महत्वपूर्ण साझेदारी कमजोर पार्ने चेतावनी दिएका छन्।
उत्तर क्यारोलाइना राज्यकी सांसद डेबोरा रॉस, टेक्सासका सांसद मार्क भेसी र इलिनोइसका सांसद राजा कृष्णमूर्तिले प्रतिनिधि सभामा प्रस्ताव पेस गर्दै भारतबाट आयात हुने वस्तुहरूमा लगाइएको उच्च शुल्क खारेज गर्न माग गरेका हुन्। उनीहरूको भनाइमा यस कदमले व्यापारसम्बन्धी निर्णयमा कांग्रेसको संवैधानिक अधिकार पुनःस्थापित गर्न मद्दत गर्नेछ।
प्रस्तावमा ट्रम्पले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्तिसम्बन्धी ऐन (आईईईपीए) अन्तर्गत जारी गरेको राष्ट्रिय आपतकालीन आदेश अन्त्य गर्ने व्यवस्था पनि समावेश गरिएको छ। सो आदेशकै आधारमा भारतका उत्पादनमा व्यापक भन्सार शुल्क लगाइएको थियो, जसमा रूसबाट तेल खरिद गरेको आरोपमा थप २५ प्रतिशत शुल्क पनि जोडिएको छ।
सांसद कृष्णमूर्तिले भने, “भारतप्रति ट्रम्पको गैर-जिम्मेवार भन्सार रणनीतिले अमेरिकी आपूर्ति शृंखला अवरुद्ध गर्छ, श्रमिकलाई क्षति पुर्याउँछ र उपभोक्ताका लागि लागत बढाउँछ।” उनले हानिकारक शुल्क हटाएर भारतसँग सहकार्य गरेमा अमेरिका आफ्ना साझा आर्थिक र सुरक्षा आवश्यकता अझ प्रभावकारी रूपमा अघि बढाउन सक्ने बताए।










