मेस्सी हेर्न हनिमुनसमेत रद्द

Screenshot_20251213_174207_Instagram

कोलकाता: अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सी शनिबार बिहान कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे। ‘गोट इन्डिया टुर २०२५’ अन्तर्गत भारत आएका मेस्सीलाई स्वागत गर्न कडाकेको चिसोबीच हजारौं समर्थक विमानस्थलमा भेला भएका थिए।
समर्थकको भीडमा एक नवविवाहित जोडी पनि सहभागी थियो, जसले मेस्सीको एक झलक हेर्नकै लागि आफ्नो हनिमुन योजना रद्द गरेको बताएका छन्। समाचार संस्था एएनआई सँग कुरा गर्दै ती समर्थकले भने, “हामी भर्खरै विवाह गरेका हौं, तर मेस्सीलाई पहिलो पटक प्रत्यक्ष हेर्न हनिमुन स्थगित गर्‍यौं। हामी १०–१२ वर्षदेखि उहाँलाई पछ्याइरहेका छौं।”
मेस्सीको विमान बिहान २:२६ बजे अवतरण गरेसँगै समर्थकहरू गेट नम्बर ४ मा जम्मा भएका थिए। अर्जेन्टिनाको झन्डा फहराउँदै ढोल बजाइयो र ‘मेस्सी–मेस्सी’ का नाराले वातावरण गुञ्जायमान बन्यो।
एक उत्साहित समर्थकले भने, “म २००७ देखि मेस्सीको फ्यान हुँ। उहाँप्रति मोहब्बत छ। २०२६ मा अर्जेन्टिना फेरि विश्वकप जित्नेछ।”
कडा सुरक्षा व्यवस्थाबीच मेस्सीलाई वीआईपी गेटबाट बाहिर निकालिएको थियो। उनी आज युबा भारती (साल्ट लेक) स्टेडियममा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्।
तीन दिनको भारत भ्रमणका क्रममा मेस्सीले चार सहरको यात्रा गर्ने कार्यक्रम रहेको छ। आयोजकका अनुसार बाँकी सहरहरूमा पनि समर्थकको यस्तै उत्साह र उत्सवको माहोल रहने अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement