नयाँ दिल्ली: लोकसभामा विपक्षी नेता राहुल गाँधीले शुक्रबार देशका प्रमुख शहरहरूमा बढ्दो वायु प्रदूषणको मुद्दा उठाउँदै सरकारले संसदमा विस्तृत छलफल गर्नुपर्ने माग गरेका छन्। उनका अनुसार दिल्लीसहित धेरै महानगरहरू विषालु हावाको चपेटामा छन्, जसका कारण बालबालिकामा फोक्सोका रोग बढिरहेको छ भने वृद्धहरू श्वास फेर्न संघर्ष गरिरहेका छन्।
राहुलले यो कुनै वैचारिक विवादको विषय नभई सिङ्गो देशले मिलेर समाधान खोज्नुपर्ने समस्या भएको उल्लेख गरे। उनका अनुसार प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको छ, जसका लागि सामूहिक प्रयास आवश्यक छ।
संसदीय कार्य मन्त्री किरेन रिजिजुले उक्त विषय कार्य मन्त्रणा समिति (बीएसी) मा उठिसकेको र सरकारले छलफलका लागि तयारी दर्शाएको जानकारी दिए।
राहुलले प्रधानमन्त्रीलाई हरेक शहरका लागि पाँचदेखि दस वर्षभित्र लागू गर्न सकिने दीर्घकालीन योजना संसदमा प्रस्तुत गर्न आग्रह गरेका छन्। उनले विपक्ष पनि यस्तो योजनामा सरकारसँग सहयोग गर्न तयार रहेको बताए।
संसद परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै राहुलले प्रदूषणले व्यापक स्वास्थ्य संकट उत्पन्न गरिरहेको बताएका थिए। कांग्रेस महासचिव तथा सांसद प्रियंका गाँधी वाड्राले पनि प्रदूषणबारे संसदमा गहिरो छलफल गरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिइन्।










