सील भयो ग्लेनरिजको बार

IMG-20251210-WA0154

दार्जीलिङ: अजय एड्वर्ड्सको स्वामित्वमा रहेको ग्लेनरिजको बार बजलाई एक्साइज विभागले ३ महीनाको लागि सील गरिदियो। डेपुटी एक्साइज कलेक्टर सरन्या पारिकले यसबारे जानकारी गराउँदै एक्साइज विभागका कलेक्टरको निर्देशअनुसार नै ग्लेनरिजको बारलाई ३ महीनाको लागि बन्द गरिएको बताए। उनले बंगाल एक्साइज रूललाई उल्लंघन गरिएको कारणले नै यो बारलाई सील गरिएको जानकारी गराए। उनले बंगाल एक्साइज रूल २३९ पनि उल्लंघनको एउटा कारण रहेको बताए। यसबारे अजय एड्वर्डससित कुराकानी गर्न चाहँदा उनी दार्जीलिङदेखि बाहिर भएको कारण ग्लेनरिजका प्रबन्धक अशोक तामाङले यसबारे विस्तृत जानकारी गराएका छन्। उनले भने-हिजो ८ दिसम्बरको साँझ ५.३० बजीतिर ग्लेनरिजको रेष्टोरेण्ट चलिरहेको थियो र बजमा पनि एक-दुईजना ग्राहक प्रवेश गरिसकेका थिए। त्यसै क्रममा एक्साइज विभागका केही अधिकारीहरू आएर बजको जाँच गर्न शुरू गरेका थिए। ग्लेनरिजका कर्मचारीहरूले यो सामान्य रेड हुनसक्ने अनुमान लगाएका थिए। किनभने, यसप्रकारको रेड समय-समयमा हुने गर्छ। तर ग्लेनरिजको स्टोर रूम, रेष्टोरेण्टको सानो स्टोरलाई पनि सील गरिदिए। भुईँ तलामा रहेको बारका सबै सामानहरू पनि उनीहरूले जफ्त गरेको तामाङले जानकारी गराए। यसैकारण आजदेखि ग्लेनरिजको बार चलेको छैन। केवल रेष्टोरेण्ट मात्रै सञ्चालनमा रहेको छ। उनले बारका सम्पूर्ण दस्तावेजहरू ठीकै रहेको बताउँदै केवल बारमा चलिरहेको लाइभ म्यूजिकको कारण मात्रै यसप्रकारको कारवाही गरिएको हो भन्ने पनि बताए। उनले दार्जीलिङका पुराना पुलिस अधीक्षकले ग्लेनरिजको बारमा लाइभ म्यूजिक चलाउन अनुमति प्रदान गरेका थिए भन्ने बताउँदै वर्तमान पुलिस अधीक्षक यहाँ नियुक्त भएर आएपछि यसमा निकै समस्या भइरहेको जनाए। यद्यपि, उनले पुलिस अधीक्षकसमक्ष सोलो लाइभ म्यूजिक गर्नको लागि आवेदन प्रदान गरिसकेको छ भन्ने पनि बताए। यसैकारण एक्साइज विभागले ग्लेनरिजको बारलाई सील गरेको पनि तामाङले जानकारी गराए। यस सम्बन्धमा कानूनी हिसाबले अघि बढ़्ने निर्णय गरिएको पनि उनले बताए।

यता. क्रिसमस र नयाँ वर्षको ठीकअघि ग्लेनरिजको बार बन्द भएपछि गलेनरिजलाई गतिलै आर्थिक नोक्सानी हुने अनुमान लगाइएको छ। किनभने, क्रिसमस र नयाँ वर्षको समय ग्लेनरिजको यो बार व्यापकरूपले चल्ने गर्छ। उनले हाल ग्लेनरिजमा २५० कर्मचारी कार्यरत रहेको बताउँदै आफूले २२ वर्षदेखि यहाँ काम गरिरहेको पनि जानकारी गराए। एक प्रश्नको उत्तरमा उनले भने-यसपाली विशेष मौसमको कारण दशैं र तिहारमा ग्लेनरिजको बार राम्रोसित चल्न सकेन। यसैले क्रिसमसमा ग्लेनरिजको बार राम्रोसित चल्छ भन्ने आशा गरिएको थियो, तर त्यो आशा पूरा हुन नपाउदै यसप्रकारले बारलाई सील गरिएको छ। यसबारे ग्लेनरिजका मालिक अजय एड्वर्डस नै आएर उचित निर्णय गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement