आईपीएल लिलामीको निम्ति ३५० जना खेलाड़ीहरूका अन्तिम सूची जारी

IMG-20251209-WA0089

नयाँ दिल्ली: आईपीएल २०२६-को निम्ति १६ दिसम्बरमा अबु धाबीमा हुने लिलामीमा जम्मा ३५० जना क्रिकेटरको नाममा बोली लाग्नेछ, जसमा २४० जना भारतीय र ११० जना विदेशी खेलाड़ी सामेल छन्। हालै सन्न्यासको फसेला फिर्ता लिएर वनडे इण्टरनेशनल क्रिकेटमा फर्किने दक्षिण अफ्रिकाका क्विण्टन डी ककको नाम पनि अन्तिम सूचीमा सामेल गरिएको छ। उनको बेस प्राइस १ करोड़ रुपियाँ रहेको छ। यस सूचीमा अष्ट्रेलियाई ब्याटर स्टीव स्मिथ पनि सामेल छन्, जसको बेस प्राइस २ करोड़ रुपियाँ रहेको छ। स्मिथ अन्तिमपल्ट २०२१-मा आईपीएलमा खेलेका थिए। आईपीएलको विज्ञप्तिअनुसार, लिलामीको निम्ति शुरुवातमा जम्मा १३९० जना खेलाड़ीले पञ्जीकरण गराएका थिए। त्यसलाई पछिबाट घटाएर १००५ गरियो, जसलाई अन्तमा घटाएर ३५० जना खेलाड़ीहरूका सूची तयार गरियो। आईपीएलका १० वटा फ्रेञ्चाइजी टीमले यी ३५० जना खेलाड़ीहरूबाट जम्मा ७७ जना खेलाड़ीलाई खरीद गर्नेछ। लिलामीमा खेलाड़ीहरूका पहिलो सेटमा भारत र मुम्बईका ब्याटर पृथ्वी शा र सरफराज खान सामेल छन्। यी दुवैले आफ्नो बेस प्राइस ७५ लाख रुपियाँ राखेका छन्। पृथ्वी २०१८-देखि २०२४-सम्म आईपीएलमा खेलेका थिए तर गत लिलामीमा उनी अनसोल्ड रहेका थिए। सरफराजले पनि २०२१ पछि यस प्रतियोगितामा खेलेका छैनन्। आईपीएलद्वारा साझा गरिएको सूचीमा क्यामरन ग्रीन र जेक फ्रेजर म्याकगर्कको रूपमा २ जना अष्ट्रेलियाई खेलाड़ीको साथमा न्यूजील्याण्ड र चेन्नई सुपर किंग्स (सीएसके)-का पूर्व ओपनिंग ब्याटर डेवोन कनवे र दक्षिण अफ्रिकाका डेविड मिलर पनि सामेल छन्। यसमा प्रत्येकको बेस प्राइस २ करोड़ रुपियाँ रहेको छ। कलकत्ता नाइट राइडर्स (केकेआर)-द्वारा रिलीज गरिएका अलराउण्डर भेंकटेश अय्यरले आफ्नो बेस प्राइस २ करोड़ रुपियाँ राखेका छन्। सैयद मुश्ताक अली ट्रफी टी२० प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्ने कुणाल चन्देला र अशोक कुमार पनि लिलामीको अन्तिम सूचीमा रहेका छन्। तीनपल्टको च्याम्पियन केकेआर ६४.३ करोड़ रुपियाँको सर्वाधिक धनराशिको साथ लिलामीमा ओर्लिनेछ। यसरी ५ पल्टको च्याम्पियन सीएसकेसँग दोस्रो सर्वाधिक ४३.४ करोड़ रुपियाँको धनराशि रहेको छ। सनराइजर्स हेदराबादसँग २५.५ करोड़ रुपियाँ रहेको छ। लिलामीको अन्तिम सूचीमा ईंग्ल्याण्डका २१ जना खेलाड़ी रहेका छन्। यसमा विकेटकीपर ब्याटर जेमी स्मिथ, पेस बलर गस एटकिन्सन, लियाम लिविंगस्टोन र टेस्ट ओपनिंग ब्याटर बेन डकेट सामेल छन्। यस लिलामीमा अष्ट्रेलियाई अलराउण्डर क्यामरन ग्रीनले ठूलो बोली पाउने सम्भावना छ।
लिलामीको सूचीमा अष्ट्रेलियाका १९ जना खेलाड़ी सामेल छन्। यसमा ग्रीनको साथमा जोश ईंग्लिश, म्याथ्यू शर्ट, कूपर कोनोली र ब्यू वेबसस्टर प्रमुख नाम हो। दक्षिण अफ्रिकाका १५ जना खेलाड़ी सूचीको हिस्सा छन्। यसमा डी ककको साथमा मिलर, पेस बलर लुंगी एनगिडी, गेराल्ड कोएत्जी र अलराउण्डर वियान मुल्डर सामेल छन्। लिलामीको सूचीमा स्थान बनाउने वेष्ट इण्डिजका ९ जना खेलाड़ीहरूमा पेस बलर अल्जारी जोसेफ र शमार जोसेफ, एकीम एगस्टे, शाई होप र रोस्टन चेस सामेल छन्। श्रीलंकाका जुन १२ जना खेलाड़ीले लिलामीको सूचीमा स्थान बनाएका छन्, त्यसमा वानिन्दु हसरंगा, दुनीथ वल्लालेज, महीश तीक्षणा, त्रवीन म्याथ्यू, पथुम निस्सांका, कुसल मेण्डिस र कुसल परेरा सामेल छन्। यसरी न्यूजील्याण्डका १६ र अफगानिस्तानका १० जना खेलाड़ीलाई लिलामी सूचीमा स्थान प्राप्त भएको छ। न्यूजील्याण्डका खेलाड़ीहरूमा अलराउण्डर रचिन रविन्द्र पनि सामेल छन्, जसलाई सीएसके-ले रिलीज गरेको थियो। अफगानिस्तानका खेलाड़ीहरूमा रहमानुल्लाह गुरबाज र नवीन अल हक पनि सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement