गान्ताेक: सिक्किम सरकारका हालै पदोन्नति पाएका केही वरिष्ठ अधिकारीहरूले सोमबार बिहान मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरेका छन्। उनीहरूले मिन्तोकगाङस्थित मुख्यमन्त्रीको सरकारी आवासमा पुगेर शुभेच्छा आदान–प्रदान गरेका हुन्।
यस क्रममा सारिका प्रधान र नोरजिङ छिरिङ सेङ्गाले भारतीय प्रशासनिक सेवा (आईएएस) मा हालै समावेश भएको सम्भारसहित मुख्यमन्त्रीसँग भेट गरे। मुख्यमन्त्री तामाङले दुवै अधिकारीलाई बधाई दिँदै उनीहरूको सेवायात्रा सफल र लक्ष्यपूर्ण होस् भन्ने शुभकामना व्यक्त गरे।

त्यसैगरी, पीसीई बसन्त तामाङ, पीडी छेवाङ एन. शेर्पा, पीडी राजनारायण प्रधान र सीई संजय सिंहले पनि आजै मुख्यमन्त्रीलाई भेट गरेका थिए।

मुख्यमन्त्रीले सबै अधिकारीहरूलाई उनीहरूको ‘योग्य र समयानुकूल’ पदोन्नतिको उपलब्धिमाथि बधाई दिँदै आगामी कार्यकाल उत्पादक र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।









