गोवा: भारतको गोवास्थित नाइट क्लबमा आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये चारजना नेपाली रहेको खुलेको छ। मृत्यु भएका चारैजना उक्त क्लबमा कार्यरत रहेको गोवा पुलिसले जनाएको छ।
मृत्यु हुनेमा चूर्णबहादुर पुन,विवेक कटवाल,सुदीप र सविनको पहिचान खुलेको पुलिसले जनाएको छ। चारैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको जनाइएको छ। गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासँग सम्पर्क गरी चारवटै शवलाई नेपाल पठाउन समन्वय भइरहेको गोवा पुलिसले जनाएको छ। उनीहरू कुन जिल्लाका हुन् खुल्न बाँकी छ।
पुलिसका अनुसार उक्त घटनामा मृत्यु भएकामध्ये २० जना क्लबका कर्मचारी रहेका छन्। सोही घटनामा पाँचजना पर्यटकको पनि मृत्यु भएको पुलिसले जनाएको छ। जसमध्ये चारजना दिल्लीका र अर्का एकजना कर्नाटकका हुन्।
शनिबार उत्तरी गोवाको अर्पोरा गाउँको नाइटक्लबमा सिलिन्डर विष्फोट भएर ठूलो आगलागी हुँदा २५ जनाको मृत्यु भएको हो। राज्यको राजधानी पणजीबाट करिब २५ किलोमिटर टाढा रहेको अर्पोरा गाउँको बिर्च बाई रोमियो लेन क्लबमा मध्यरातमा आगलागी भएको थियो।










