गान्ताेक: सिटिजन एक्सन पार्टी (क्याप) अन्तर्गत महिला परिषद्की अध्यक्ष बिना शर्माले सिक्किममा नाबालिक छोरीहरूमाथि यौन हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएको दाबी गरेकी छन्। उनले पछिल्ला १५–२० दिनमा मात्र सातवटा यौन उत्पीडनका मुद्दा दर्ता भएको उल्लेख गर्दै राज्य सरकार र सम्बन्धित निकायको मौनता “चिन्ताजनक” रहेको बताइन्।
शर्माका अनुसार प्रशासनको डर अपराधीमा नहुँदा महिलामाथि अपराधको दर बढेको हो। “पिंक बस ल्याउने भाषण मात्र गरेर महिलाको सुरक्षा हुँदैन, सरकारले राज्यका छोरीहरूको जिम्मेवारी लिनुपर्छ,” उनले जारी वक्तव्यमा भनेकी छन्।
उनले हिंसा भइसकेपछि मात्र खबर लिने होइन, हिंसा नै नहोस् भनेर सरकार र प्रशासनले सक्रिय भूमिका खेल्नुपर्ने बताइन्। शर्माले यस विषयमा विधानसभामा तत्काल गम्भीर छलफल र कडा कानुन आवश्यक भएको जोर दिइन्।
सत्तापक्षले महिलाको भोट लक्षित योजनामात्र अघि सारेको आरोप लगाउँदै उनले ठोस सुरक्षा पहल नदेखिएको बताइन्। साथै सत्तारूढ महिला नेतृहरू नै अग्रसर भए धेरै छोरीहरूको इज्जत जोगिन सक्ने भन्दै कडा कानुन निर्माणको माग राखिन्।









