नयाँ दिल्लीः रूसी राष्ट्रपति भ्लादिमिर पुतिनको शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने शिखर वार्ताअघि राष्ट्रपति भवनमा विशेष समारोहसहित स्वागत गरिएको छ। यस अवसरमा भारतका तिनै सेनाले पुतिनलाई ‘गार्ड अफ अनर’ प्रदान गरे भने तोपको सलामी पनि दिइयो।
स्वागत समारोहमा राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं उपस्थित थिए। गार्ड अफ अनर अवलोकनपछि पुतिनले प्रधानमन्त्री मोदीमार्फत भारतीय मन्त्रिमण्डलका सदस्य तथा उच्च अधिकारीहरूसँग परिचय पाए।
औपचारिक कार्यक्रमपछि पुतिन राजघाट पुगेका थिए, जहाँ उनले महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जलि अर्पण गरे। त्यसपछि उनी हैदराबाद हाउस पुगेका छन्, जहाँ प्रधानमन्त्री मोदीसँग शिखर वार्ता निर्धारित छ। २३औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन भारत आएका पुतिनले रक्षा सहकार्य, व्यापारलाई बाह्य दबाबबाट जोगाउने उपाय तथा साना मोड्युलर रिएक्टरको क्षेत्रमा सहकार्यबारे छलफल गर्ने अपेक्षा गरिएको छ।
बिहीबार साँझ प्रधानमन्त्री मोदीले नै पालम विमानस्थलमा पुतिनलाई अँगालो हालेर स्वागत गरेका थिए। दुबै नेता एउटै सवारीमा प्रधानमन्त्री आवास पुगेका थिए, जहाँ निजी रात्रिभोजको व्यवस्था गरिएको थियो। पछिल्ला दिनमा भारत–अमेरिका सम्बन्धमा देखिएको तनावका बीच पुतिनको भारत यात्रा झन् महत्वपूर्ण मानिएको छ।









