गान्ताेक: राजधानीको एमजी मार्गमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङजन कल्याण विभागद्वारा ‘इन्टरनेशनल डे अफ् पर्सन्स विद डिसएबिलिटीस्’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सामाजिक कल्याण विभाग तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङजन कल्याण विभागका मन्त्री साम्डुप लेप्चा मुख्य अतिथि थिए।
मुख्य अतिथि लेप्चाले आफ्नो सम्बोधनमा सबै नागरिकलाई भिन्न क्षमताका व्यक्तिहरूलाई समान हैसियतमा व्यवहार गर्न आग्रह गर्दै उनीहरूको क्षमता र सम्भावनाहरू पहिचान गर्न सबैलाई अनुरोध गरे। उनले श्रवण-अक्षमता भएका कलाकारले प्रस्तुत गरेको आत्मविश्वासी नृत्यलाई उदाहरणस्वरूप उल्लेख गर्दै कलाकारहरूलाई तयार पार्न शिक्षक तथा प्रशिक्षकहरूको निरन्तर प्रयासको प्रशंसा गरे।
कार्यक्रममा आईसीडीएस, डब्ल्युसीएससी र डीडब्ल्युडीकी निर्देशक उर्वशी पौडेल र सिलगढ़ी ग्रेटर लायन्स आई अस्पतालका सीईओ डा. राजेश सैनीले पनि सम्बोधन गरे।
यसअघि, पाल्जोर नम्ग्याल गर्ल्स स्कूलकी छात्राहरूको पाइप ब्याण्ड प्रस्तुति देखाइएको थियो। त्यसपछि, भिन्न क्षमताका बालबालिका, विशेष विद्यालयका विद्यार्थीहरू तथा पीडीसीएसका प्रतिभागीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे।
कार्यक्रमका क्रममा सरकारले दिव्याङ्गजन दम्पतीको विवाह सहयोगका लागि एकपटकको रु २ लाख अनुदान घोषणा गर्यो। यस अतिरिक्त, हाफवे होम, देवराली मायाल्मु संघ, आसाम लिङ्जेईलाई पनि सहायता अनुदान हस्तान्तरण गरिएको थियो।
दिव्याङ्गजनहरूको हेरचाह गर्ने कर्मचारी तथा स्वयंसेवकलाई समर्पित सेवाको कदर स्वरूप नगद पुरस्कार प्रदान गरिएको थियो। साथै, २७–२९ नोभेम्बर २०२५ मा असम, गुवाहटीमा आयोजित दोस्रो पारा स्पोर्ट्स मिटका पदक विजेता तथा सहभागी अधिकारीहरूलाई स्मृति चिह्न र रु ५०,००० नगद पुरस्कार प्रदान गरियो।









