वाशिंटन डिसी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “तेस्रो विश्वका देशहरू”बाट हुने आप्रवासनमा स्थायी रोक लगाइने कठोर नीति सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल ट्रूथ सोशलमा दुईवटा लामो पोस्ट गर्दै उनले बाइडन प्रशासनका पालामा लाखौँ व्यक्तिलाई दिइएको आप्रवासन स्वीकृति खारेज गरिने उल्लेख गरेका हुन्।
वाशिङ्टनमा एक अफगान नागरिकले गोली प्रहार गर्दा घाइते भएका यूएस नेशनल गार्डका दुई सैनिकमध्ये एक जनाको मृत्यु भएपछि ट्रम्पले आप्रवासीप्रति कडा नीति अवलम्बन गर्ने घोषणा गरेका हुन्। उक्त घटनापछि ट्रम्पले आप्रवासन नीतिका कारण अमेरिकी नागरिक “सुरक्षित छैनन्” भन्ने टिप्पणी गरेका छन्।
उनका अनुसार अहिले अमेरिकामा रहेका ५.३ करोड विदेशी नागरिकहरूमध्ये धेरैजना “विफल राष्ट्र, जेल, मानसिक संस्था वा आपराधिक समूहबाट आएका” रहेको दाबी गर्दै उनीहरू “सरकारको सेवासुविधामा निर्भर बनेको” आरोप समेत लगाएका छन्।
ट्रम्पले “अमेरिकामा सामाजिक गतिरोध सिर्जना गर्ने, सुरक्षामा जोखिम पुर्याउने वा राज्यका स्रोतमा भार हुने जो–कसैलाई हटाइनेछ” भन्दै आप्रवासनमा व्यापक पुनरावलोकन सुरु गर्न लागिएको बताए।
यसअघि अमेरिकी सरकारले अफगानिस्तान, क्युबा, हेइटी, इरान, सोमालिया र भेनेजुएलालगायत १९ वटा देशका ग्रीनकार्डधारीहरूको हैसियत फेरि परीक्षण गरिने जनाएको थियो। तर सो प्रक्रियाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
बिहीवारको गोलीकाण्डपछि अफगान नागरिकहरूको सबै आप्रवासन प्रक्रिया अस्थायी रूपमा रोकिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।
सन्दिग्धबारे:
गोली प्रहार गरेको आरोप लागेका व्यक्ति रहमानुल्लाह लकन्वाल (२९) रहेको प्रहरीले जनाएको छ। उनलाई सन् २०२१ मा विशेष आप्रवासन योजनाअन्तर्गत अमेरिका ल्याइएकाे थियो। लकन्वालले अफगानिस्तानमा सीआईएलाई सहयोग गरेको बताइएको छ।
ट्रम्पले घटनालाई “आतङ्कको कार्य” को संज्ञा दिएका छन्।










