स्पेनलाई पराजित गरी इटली लगातार तेस्रोपल्ट डेविस कप च्याम्पियन

IMG-20251124-WA0094

नयाँ दिल्ली: इटलीले यानिक सिनरको अनुपस्थितिमा पनि स्पेनलाई पराजित गरी लगातार तेस्रोपल्ट डेविस कपको खिताब जित्यो। यसरी इटलीले यस प्रतिष्ठित टीम टेनिस टुर्नामेण्टमा आफ्नो बादशाहत कायम राख्यो। सिनरको अनुपस्थितिमा मेटियो बेरेटिनी र फ्लेवियो कोबोली इटलीको निम्ति स्टार रहे। यी दुईजनाले आफ्नो एकल म्याच जितेर इटलीलाई फाइनलमा २-०-को अजेय बढ़त दिलाए। यो इटलीको लगातार तेस्रो अनि जम्मा चौथो डेविस कप खिताब हो। लगातार तीनपल्ट खिताब जित्ने अन्तिम देश अमेरिका थियो, जसले १९६८-देखि १९७२-बीच लगातार पाँचपल्ट खिताब जितेको थियो। गत २ वर्षमा इटलीलाई डेविस कप च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वका दोस्रो नम्बरका खेलाड़ी सिनरले आउँदो सीजनको तयारीहरूका निम्ति डेविस कपमा भाग लिएनन्। सिनर बाहेक विश्वका आठौं नम्बरका खेलाड़ी लोरेञ्जो मुसेट्टीले पनि टुर्नामेण्टमा हिस्सा लिएनन्। यी २ प्रमुख खेलाड़ीको अनुपस्थितिमा पनि इटलीलाई ट्रफी जित्न समस्या भएन। इटलीले स्पेनविरुद्ध बोलोग्नाको सुपरटेनिस एरेनामा असाधारण प्रदर्शन गऱ्यो। इटलीले क्वार्टर फाइनलमा अष्ट्रिया र सेमिफाइनलमा बेल्जियमलाई पराजित गरेको थियो। इटलीविरुद्ध फाइनलमा स्पेन पनि आफ्ना स्टार खेलाड़ी कार्लोस अल्काराज बिना खेलिरहेको थियो। फाइनलमा बेरेटिनीले पाब्लो केरेनो बुस्टालाई ६-३, ६-४-ले पराजित गरे। त्यसपछि कोबोलीले जोम मुनारलाई १-६, ७-६ ५, ७-५-ले पराजित गरेर इटलीको जीत सुनिश्चित गरे। इटलीले पहिलोपल्ट १९७६-मा डेविस कप जितेको थियो। त्यसपछि उनीहरूले २०२३ र २०२४-मा मलागामा खिताब जितेका थिए। इटलीले यसपाली पहिलोपल्ट आफ्नो घरमा खिताब जित्यो। ६ पल्टको च्याम्पियन स्पेन २०१९ पछि पहिलोपल्ट फाइनलमा खेलिरहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement