नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी तीनदिने दक्षिण अफ्रिका भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्। उनले त्यहाँ जी-२० शिखर सम्मेलनमा भाग लिएर विश्वव्यापी मुद्दामा भारतको दृष्टिकोण राखेका थिए।
सम्मेलनमा मोदीले कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग रोक्नका लागि वैश्विक समझौताको आवश्यकता औंल्याए। उनले प्रविधि वित्त-केन्द्रित नभई मानव-केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए।
प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, “सफल जोहान्सबर्ग जी-२० शिखर सम्मेलनले सुखी र दिगो पृथ्वीको लागि योगदान पुर्याउनेछ। विश्व नेताहरूसँग भएका बैठक र कुराकानीहरू फलदायी रहे। यसबाट भारतका विभिन्न देशहरूसँग द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुनेछन्। सम्मेलन सफलतापूर्वक आयोजना गरेको लागि दक्षिण अफ्रिकाका जनता, राष्ट्रपति रामाफोसा र सरकारलाई धन्यवाद दिन चाहन्छु।”
भ्रमणका क्रममा मोदीले बेलायतका प्रधानमन्त्री स्टोर्मर, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युंग, ब्राजिलका राष्ट्रपति लूला दा सिल्भा, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, जापानकी प्रधानमन्त्री साने ताकाइची, इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा सँग भेटवार्ता गरेका थिए।
अर्को पोस्टमा मोदीले जोहान्सबर्गमा प्रस्तुत दक्षिण अफ्रिकाको गिरमिटिया गीत ‘गंगा मैया’ अत्यन्त भावुक बनाउने अनुभव भएको बताएका छन्। उनले भने, “यो गीत तमिल भाषामा सुन्नु अनौठो अनुभव रह्यो। दशकौँअघि यहाँ आएका मानिसहरूको आशा र दृढ संकल्प समेटिएको गीत हो। चुनौती आए पनि उनीहरू विचलित भएनन्। गीत र भजनमार्फत् उनीहरूले भारतलाई आफ्नो हृदयमा जोगाइराखेका छन्। आफ्नै जरा र संस्कृतिसँगको यो जोड आज पनि जीवित देख्दा मन प्रफुल्लित भयो।”









