गुवाहटी: भारत र दक्षिण अफ्रिकाबीच सीरीजको दोस्रो क्रिकेट टेस्ट म्याच शनिवारदेखि शुरु भयो। बारसापारा क्रिकेट स्टेडियममा पहिलो दिनको खेलमा दक्षिण अफ्रिकाले पहिला ब्याटिंग गर्दै आफ्नो पहिलो ईनिंग्समा ६ विकेट गुमाएर २४७ रन बनायो। ओपनिंग जोड़ीले असल शुरुवात दिलाएपछि दक्षिण अफ्रिकालाई आत्मविश्वास दिलाए पनि कुलदीप यादवको अगुवाईमा भारतीय बलरहरूले लगातार विकेट हासिल गरी खेलको रोमाञ्चलाई कायम राखे। पहिलो दिनको खेल समाप्त हुँदा सेनुरान मुथुसामी २५ र काइल वेरेने १ रनमा अविजित थिए। भारतीय बलरहरूमा कुलदीप यादवले सर्वाधिक ३ विकेट लिए। यसबाहेक जसप्रीत बुमराह, मोहम्मद सिराज र रविन्द्र जडेजालाई पनि १-१ सफलता हासिल भयो। आज टस जितेर पहिला ब्याटिंग गर्ने दक्षिण अफ्रिकालाई एडन मार्करम र रेयान रिकेल्टनले असल शुरुवात दिलाए। यी दुईजनाले पहिलो विकेटको निम्ति ८२ रनको पार्टनरशीप गरे। भारतीय बलरहरूले पछिबाट त्यही स्कोरमा दुवै ओपनरलाई आउट गरेर दक्षिण अफ्रिकालाई गतिलो झट्का दिए। मार्करमले ३८ अनि रिकेल्टनले ३५ रन बनाए। यी दुईजना ब्याटरले ५-५ वटा चौका लगाए। त्यसपछि ट्रिस्टन स्टब्स र कप्तान बावूमाले मिलेर तेस्रो विकेटको निम्ति ८४ रनको पार्टनरशीप गरे। आत्मविश्वासको साथ खेलिरहेका बावुमालाई आउट गरी जडेजाले भारतलाई दिनको तेस्रो सफलता दिलाए। बावुमाले ५ वटा चौकाको साथ ४१ रन बनाए। यसरी स्टब्सले ४ वटा चौका र २ वटा छक्काको साथ ४९ रन बनाए। अन्य ब्याटरहरूमा टोनी डी जोर्जी २८ र वियान मुल्डर १३ रन बनाए।









