काठमाडौं: अमेरिकामाथि १० विकेटको फराकिलो जित निकाल्दै नेपाल दृष्टिविहिन महिला टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै कुनै पनि विकेट नगुमाइ पूरा गर्यो।
नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन्। त्यसअघि, टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका ९.४ ओभरमा १७ रनमै समेटिएको थियो। अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि दिलसरा धमलाले ३ र सुनिता घिमिरेले १ विकेट लिए।
दृष्टिविहिन क्रिकेटमा यो हालसम्मको सबैभन्दा कम रन थियो।
यसअघि सन् २००६ मा वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध बनाएको २१ रन दुष्टिविहिन क्रिकेटमा सबैभन्दा कम योगफल थियो।
तेस्रो जितसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ। यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ९ विकेटले हराएको थियो र अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको नेपालले भारतसँग ८५ रनले पराजि भएको थियो।









