श्रीनगर: भारतीय आध्यात्मिक गुरु श्री श्री रविशंकरले नयाँ दिल्लीको लालकिल्ला नजिक भएको विस्फोट घटनाप्रति दुःख व्यक्त गर्दै समाजमा घृणा फैलाउने तत्वहरूलाई अलग्याउन र कडाइका साथ कारबाही गर्नुपर्ने बताएका छन्।
कार्यक्रमको अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “यो अत्यन्त दुर्भाग्यपूर्ण घटना हो। जसले मानिसको मस्तिष्कमा विष हालेर हिंसाको बाटोमा डोर्याउँछन्, तिनीहरूलाई अलग्याएर दृढतापूर्वक नियन्त्रण गर्नुपर्छ।”
उनले देशका जनतालाई शान्ति र एकता कायम राख्न आग्रह गर्दै भने, “हामी सबै एक हौं, एउटै परिवारका सदस्य हौं। शान्ति कायम रहोस् र देश विकासको बाटोमा अघि बढोस्।”
हालै जम्मु–कश्मीरमा पक्राउ परेका तीन चिकित्सकको प्रसङ्गमा, जसको साथबाट ठूलो मात्रामा हतियार र गोलीबारुद बरामद गरिएको थियो, उनले भने, “तिनीहरूलाई सहि शिक्षा दिइएन। समाजमा शान्ति र मानवताको शिक्षा आवश्यक छ।”
श्री श्रीले थपे, “म सात वर्षपछि यहाँ आएको हुँ। अहिले कश्मीरमा धेरै प्रगति देखिन्छ। यहाँका युवाहरू सक्षम छन् र शान्तिको सन्देश फैलाउन चाहन्छन्।”
भारतमा पछिल्ला वर्षहरूमा आईएसआईएस जस्ता आतङ्क संगठनले युवाहरूलाई बरगलाउने प्रयास बढाएको देखिँदै आएको छ। यही सन्दर्भमा रविशंकरले भनेका छन्, “हिंसाबाट होइन, शिक्षा र संवादबाट मात्र स्थायी शान्ति सम्भव छ।”









