बिहारमा अवैध घुसपैठी राष्ट्रको सुरक्षाका लागि खतरा: अमित शाह

बेतिया: भारतका गृहमन्त्री अमित शाहले पश्चिम चंपारण जिल्लामा आयोजित चुनावी र्‍यालीमा बिहीबार सम्बोधन गर्दै अवैध घुसपैठीहरुलाई राष्ट्रको सुरक्षाका लागि खतरा भनेका छन्। उनले राष्ट्रिय जनता दल (आरजेडी) को शासनकालमा हत्या, नरसंहार र बलात्कारजस्ता घटनाहरू सामान्य भएको दाबी गर्दै राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) सरकारले ‘बाहुबलिहरू’को लागि कुनै ठाउँ नरहेको बताएका छन्।
शाहले मखाना बोर्डको स्थापना राज्यका लागि आवश्यक कदम भएको बताए। उनले भने, “प्रधानमन्त्री नरेन्द्र मोदीले मखाना बोर्ड स्थापना गरे, तर यदि ‘लालू एन्ड कम्पनी’को सरकार आयो भने उनीहरूले ‘घुसपैठिया बोर्ड’ बनाउनेछन्, जसले रोजगारका अवसरहरू समाप्त गर्नेछ।”
अवैध घुसपैठीको मुद्दामा तीव्र टिप्पणी गर्दै उनले आरजेडीलाई राष्ट्रको संप्रभुताका लागि खतरा भएको बताए। उनका अनुसार, अवैध बङ्गलादेशी घुसपैठीहरूले नागरिकको रोजगार मात्र होइन, राष्ट्रिय सुरक्षामा पनि गम्भीर चुनौती ल्याउँछन्। उनले चुनावलाई राज्यलाई “घुसपैठीमुक्त” बनाउने अवसरको रूपमा उल्लेख गरे।
शाहले घोषणा गरे कि यदि एनडीए फेरि बिहारमा सरकार गठन गर्छ भने चंपारणमा नयाँ हवाईअड्डा निर्माण गरिनेछ, क्षेत्रका सबै बन्द चीनी मिलहरू सहकारी समितिहरू मार्फत पुनःसञ्चालन गरिनेछ, र थारू समुदायका लागि विशेष योजनाहरू शुरु गरिनेछन्।
उक्त अवसरमा गृहमन्त्रीले महागठबन्धनलाई कटाक्ष गर्दै ‘ठगबंधन’ भन्दै देश विरोधी विचार रहेको बताए। उनले मतदातालाई अपील गर्दै भने, “प्रधानमन्त्री मोदीको नेतृत्वमा एनडीए लाई मतदान गरेर बिहारलाई विकास, सुरक्षा र सुशासनको मार्गमा राख्न मद्दत गर्नुहोस्।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement