नयाँ दिल्ली: दक्षिण अफ्रिकी कप्तान तेम्बा बावूमाको भनाइअनुसार, विराट कोहली र रोहित शर्माको सन्न्यासपछि पनि भारतविरुद्ध आउँदो टेस्ट सीरीज सजिलो हुनेछैन तर असल स्पिन आक्रमणको दममा उनको टीमसँग २५ सालपछि भारतमा सीरीज जित्ने सुनौलो मौका पनि रहनेछ। दक्षिण अफ्रिकाले अन्तिमपल्ट १९९९-२०००-मा दिवांगत हेन्सी क्रोन्येको कप्तानीमा भारतमा पहिलोपल्ट टेस्ट सीरीज जितेको थियो। यसपाली भारत र दक्षिण अफ्रिकाबीच २ वटा टेस्ट म्याचको सीरीज खेलिनेछ अनि पहिलो म्याच १४ नोभेम्बरदेखि कलकत्तामा शुरु हुनेछ। बावुमाले भने, दक्षिण अफ्रिकाले लामो समयदेखि भारतमा टेस्ट सीरीज जितेको छैन। यसपाली हामीसँग सुनौलो मौका रहेको छ। विश्व च्याम्पियन भएको हुनाले हामीसँग धेरै अपेक्षाहरू रहेको छ। भारतमा खेल्नु सदा कठिन हुन्छ। भारतसँग असाधारण युवा खेलाड़ीहरू रहेका छन्।
बावुमाले भने, विराट र रोहित लामो समयसम्म भारतको निम्ति खेले अनि टीमलाई वर्तमान स्थितिसम्म पुऱ्याए। अहिले युवा खेलाड़ीहरूले यी दुई दिग्गजको स्थान लिने प्रयास गरिरहेका छन्। यो भारतको निम्ति ठूलो चुनौती हुनेछ। यसबाहेक हामी पूरा तयारीको साथ आएका छौं अनि हामीलाई यहाँ प्राप्त हुने चुनौतीहरूबारे जानकारी छ। हामी आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नेछौं। बावुमा सीरीजमा असल स्पिन आक्रमणविरुद्ध भारतीय ब्याटरहरूका कमजोरीको फाइदा उठाउन चाहन्छन्। न्यूजील्याण्डले पनि गत वर्ष असल स्पिन आक्रमणको सहायताले नै भारतमा टेस्ट सीरीज जितेको थियो। बावुमाले भने, बलिंग सदा हाम्रो ताकत रहेको छ। हामी यसपाली असल स्पिन आक्रमणको साथ आएका छौं। अतिरिक्त स्पिनरको आवश्यकता परे ट्रिस्टन स्टब्स पनि टीममा रहेका छन्। यसबाहेक केशव महाराज, सेनुरान मुथुसामी र साइमन हार्मर त छँदै छन्।










