पश्चिम बंगालमा एसआईआर शुरु, पहिलो दिनमै १८ लाख घरमा फारम वितरण

कोलकाता: पश्चिम बंगालमा निर्वाचन आयोगले शुरु गरेको विशेष गहन पुनरीक्षण (एसआईआर) अभियान अन्तर्गत पहिलो दिनमै करिब १८ लाख मतदाताको घरमै पुगेर एन्यूमरेसन फारम वितरण गरिएको छ।
मुख्य निर्वाचन अधिकृत (सीईओ) कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार, मंगलबार रातिसम्म घर-घर पुगेर फारम वितरणको कार्य सुचारु रूपमा अघि बढाइएको छ। अभियान अन्तर्गत मतदाताहरूलाई डुप्लिकेट एन्यूमरेसन फारम बुझाइँदैछ, जसले मतदाता सूचीमा नाम अद्यावधिक गर्न सहयोग पुर्‍याउने बताइएको छ।
राज्यभर करिब ८० हजार ६८१ जना बूथ लेभल अफिसर (बीएलओ) तैनाथ छन् भने विभिन्न राष्ट्रिय र राज्यस्तरीय राजनीतिक दलका बूथ लेभल एजेण्ट (बीएलए) को संख्या ६३ हजारभन्दा बढी रहेको जनाइएको छ। जिल्ला निर्वाचन अधिकारीहरूले सबै दललाई प्रत्येक बूथमा अधिकतम एक जना बीएलए नियुक्त गर्न पुनः आग्रह गरेका छन्।
हाल पश्चिम बंगालमा ७ करोड ६६ लाख ३७ हजार ५२९ जना पंजीकृत मतदाता रहेका छन्। २९४ वटा विधानसभा क्षेत्रमा ती सबै मतदातासम्म फारम पु-याउने काम सुरु भइसकेको छ। सन् २००२ को अन्तिम व्यापक पुनरीक्षणमा नाम समावेश गराएका मतदाताले आवश्यक विवरण भरेर मात्र फारम फिर्ता बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
यसैबीच, चुनाव आयोगको तीन सदस्यीय केन्द्रीय टोलीले यही कात्तिक १९ देखि २२ गतेसम्म उत्तर बंगालका कूचबिहार, जलपाइगुड़ी र अलीपुरद्वार जिल्लाको भ्रमण गर्ने भएको छ। टोलीसँगै पश्चिम बंगालका मुख्य निर्वाचन अधिकृत मनोजकुमार अग्रवाल पनि रहने जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement