नयाँ दिल्ली: भारतीय सेनाले पाकिस्तानलाई कडा चेतावनी दिंदै जनाएको छ कि पाकिस्तानले भारतमाथि कुनै पनि प्रकारको आतंकवादी हमला गरेमा त्यसलाई “एक्ट ऑफ वॉर”(“युद्धको कार्य) मानिनेछ।
दक्षिण–पश्चिम कमाण्डका कमाण्डर लेफ्टिनेन्ट जनरल मन्जिन्दर सिंह ले सबै सशस्त्र बलहरूलाई मानसिक र शारीरिक रूपमा सधैं तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
अक्टोबर २८ देखि ३० सम्म राजस्थानको थार मरुभूमि क्षेत्रमा भारत–पाकिस्तान सीमाको नजिकै रहेको महाजन फायरिङ रेञ्ज मा भारतीय सेनाले “कवच प्रहार” नामक ठूलो सैनिक अभ्यास सम्पन्न गरेको थियो। यसको मुख्य उद्देश्य रातको समयमा युद्ध सञ्चालन क्षमतामा सुधार गर्नु रहेको थियो। अभ्यासको ७० प्रतिशत हिस्सा रातमा र ३० प्रतिशत दिनमा गरिएको थियो।
अधिकारीहरूले जनाए अनुसार भारतका अघिल्ला केही सर्जिकल स्ट्राइकहरू, जस्तै “अपरेसन सिन्धूर” पनि रातको समयमा नै सम्पन्न गरिएका थिए। आगामी दिनमा हुने सम्भावित प्रत्याक्रमणहरू पनि यस्तै रणनीतिमा आधारित हुनेछन्।
तीन दिनसम्म चलेको अभ्यासमा ड्रोन, ट्यांक, तोप र क्षेप्यास्त्रजस्ता आधुनिक सैन्य प्रविधिहरू प्रयोग गरियो।
लेफ्टिनेन्ट जनरल सिंहले भने, “हामी हरेक अप्रत्याशित अवस्थाको सामना गर्न तयार छौं। हाम्रो प्राथमिकता राष्ट्रिय सुरक्षा र सीमाको रक्षा नै हो।”
यो अभ्यास भारतको सैन्य शक्ति, तयारी र रणनीतिक क्षमताको प्रदर्शन हो, जसले पाकिस्तान लगायत हरेक सम्भावित खतरा सामना गर्न भारत सधैं सजग रहेको सन्देश दिन्छ।










