मुम्बई: आयोजक भारतले गत विजेता अष्ट्रेलियालाई ५ विकेटले पराजित गरी आईसीसी महिला वनडे वर्ल्ड कपको फाइनलमा प्रवेश गऱ्यो। बिहीवार नवी मुम्बईको डा. डीवाई पाटिल स्पोर्ट्स एकाडमीमा खेलिएको दोस्रो सेमिफाइनलमा टस जितेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलिया ५० ओभरमा ३३८ रन बनाएर अलआउट भयो। अष्ट्रेलियाको निम्ति ओपनर फिबी लीचफील्डले ११९ रन बनाइन्। यसबाहेक एलिस पेरी (७७ रन) र एश्ले गार्डनर (६३ रन)-ले पनि अर्द्धशतक बनाइन्। लीचफील्डले ९३ बल खेलेर १७ वटा चौका र ३ वटा छक्का लगाइन्। भारतीय बलरहरूमा श्री चरणी र दीप्ति शर्माले २-२ विकेट हासिल गरिन्। त्यसपछि भारतले जेमिमा रोड्रिग्सकी अविजित शतकीय ईनिंग्सको दममा ४८.३ ओभरमा ५ विकेटमा ३४१ रन बनाएर म्याच जितेर फाइनलमा स्थान सुरक्षित गऱ्यो। जेमिमाले १३४ बल खेलेर १४ वटा चौकाको साथ अविजित १२७ रन बनाइन्। केवल ५९ रनमा शेफाली वर्मा (१०) र स्मृति मन्धना (२४ रन)-को रूपमा दुवै ओपनरलाई गुमाएपछि जेमिमाले जिम्मेवारीको साथ खेल्दै कप्तान हरमनप्रीत कौरसँग मिलेर तेस्रो विकेटको निम्ति १६७ रनको पार्टनरशीप गरी भारतको सम्भावनाहरूलाई जीवित राखिन्। हरमनप्रीतले ८८ बलमा १० वटा चौका र २ वटा छक्काको साथ ८९ रनको योगदान दिइन्।

कप्तानको विकेट पतन भएपछि जेमिमाले दीप्ति शर्मा (२४), रिचा घोष (२६) र अमनजोत कौर (अविजित १५ रन)-सँग मिलेर भारतलाई फाइनलमा पुऱ्याइन्। अष्ट्रेलियाई बलरहरूमा किम गार्थ र एनाबेल सदरल्याण्डले २-२ विकेट हासिल गरिन्। भारतले अब आइतवार खेलिने फाइनलमा दक्षिण अफ्रिकाको चुनौती स्वीकार्नेछ। म्याच जिताउने शतकीय ईनिंग्सको निम्ति जेमिमाले प्लेयर अव् द म्याचको पुरस्कार जितिन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





