गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले सोमबार ‘ब्ल्याक डे’ मनाउँदै प्रजातन्त्रको अवमूल्यनविरुद्ध आवाज उठाएको छ। गेजिङस्थित पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टी अध्यक्ष गणेश राईले सरकारमाथि प्रजातान्त्रिक मूल्य र जनअधिकारको हनन गरेको आरोप लगाए।
राईले भने, “विपक्षी उम्मेदवार र प्रस्तावकहरूलाई धम्की दिने, अपहरण गर्ने, र जनतालाई स्वतन्त्र रूपमा मताधिकार प्रयोग गर्न नदिने घटनाले लोकतन्त्रको मर्ममै प्रहार गरेको छ।”
उनका अनुसार, “विपक्षमा हुँदा निष्पक्ष चुनावको माग गर्ने, तर सत्तामा पुगेपछि त्यसैको उल्लंघन गर्ने मुख्यमन्त्री पीएस गोलेको व्यवहार तानाशाही सोचको द्योतक हो।”
राईले सत्तारूढ दललाई पारदर्शिता र जवाफदेहिताको उदाहरण प्रस्तुत गर्न चुनौती दिंदै प्रश्न गरे, “के एसकेएम सरकारले छ वर्षमा २२ हजार करोड ऋण लिएको होइन? के महालेखा परीक्षकले कोभिड खर्चमा अनियमितता भएको भन्दै रकम फिर्ता गर्न निर्देशन दिएको होइन?”
उनले जोड दिए, “जनअधिकार र प्रजातान्त्रिक मूल्यहरूको रक्षा गर्न क्याप निरन्तर संघर्षरत रहनेछ। जबसम्म आम नागरिक सचेत भई स्वस्थ र सबल सिक्किम निर्माणमा जुट्दैनन्, हाम्रो अभियान जारी रहनेछ।”
कार्यक्रममा रिमा चापागाईं, अल्बर्ट गुरुङ, पबिनहाङ सुब्बा, महेश राई, ओङ्डिला भोटिया, र भूषण अधिकारीलगायत नेताहरूले समेत सम्बोधन गरेका थिए।









