गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा मुख्यमन्त्रीका राजनीतिक सचिव र अतिरिक्त राजनीतिक सचिवहरूको समन्वय बैठक गान्तोकमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले गरेका थिए।
बैठकमा प्रमुख रूपमा शासन, पार्टी समन्वय, सामाजिक सञ्जालमार्फत जनसंपर्क र राज्यको वर्तमान राजनीतिक परिदृश्यसम्बन्धी महत्वपूर्ण विषयमा विचार विमर्श गरिएको छ। बैठकमा मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेतसहित अतिरिक्त राजनीतिक सचिवहरू फुर्बा भोटिया, छिरिङ वाङ्चुक लेप्चा, विशाल शर्मा, विष्णु शर्मा, एरास लेप्चा र मधुसूदन शर्मा उपस्थित थिए।
बैठकमा सचिवहरूले मुख्यमन्त्रीका निर्देशन, नीति र योजनाहरू तृणमूल स्तर र पार्टी कार्यकर्तासम्म प्रभावकारी रूपमा पुर्याउने उपायहरूमा छलफल गरेका छन्। अतिरिक्त राजनीतिक सचिवहरूले विभिन्न सुझाब र टिप्पणीहरू राखेका थिए, जुन थप विचारको लागि मुख्यमन्त्री समक्ष प्रस्तुत गरिने बताइएको छ।
सहभागीहरूले पार्टीका गतिविधिहरू मजबुत बनाउने, सरकारका उपलब्धिहरू जनसाधारणबीच प्रवर्धन गर्ने र सामाजिक सञ्जालको प्रभावकारिता बढाउने कुरामा जोड दिएका छन्। साथै, मुख्यमन्त्री तामाङको गतिशील नेतृत्व र सिक्किमको समग्र विकासतर्फको अथक प्रयासहरू बैठकमा विशेष रूपमा चर्चा भएका छन्। राजनीतिक सचिव र अतिरिक्त राजनीतिक सचिवहरूले मुख्यमन्त्रीको प्रगतिशील र समृद्ध सिक्किमको दृष्टिलाई साकार पार्न हातेमालो गरी काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।










