विधाननगर र ब्यारेकपुर प्रहरीसँग आईएलएस अस्पतालको सहकार्य
कोलकाता: विश्व आघात दिवसको अवसरमा आईएलएस अस्पताल समूहले विधाननगर र ब्यारेकपुर प्रहरीलेसँग सहकार्य गर्दै ‘घोरे फेरार अंगीकार’ शीर्षकको सामुदायिक सचेतना अभियान सञ्चालन गरेको छ। उक्त अभियानको उद्देश्य सडक सुरक्षा र आघात व्यवस्थापनबारे जनचेतना अभिवृद्धि गर्नुका साथै आकस्मिक स्वास्थ्य अवस्थाका लागि समुदायलाई सुदृढ बनाउने रहेको बताइएको छ।
कार्यक्रमको क्रममा विश्व बंगला गेट क्षेत्रमा हेल्मेट वितरण अभियान आयोजना गरिएको थियो, जसमा आईएलएस अस्पतालले हेल्मेट प्रायोजन गरेको थियो। अभियानको उद्घाटन गर्दै न्यू टाउनका डिएसपी मानव सिंगलाले भने, “यी हेल्मेटहरूले भविष्यमा धेरै जीवन बचाउनेछन्। हामी सबै दुई पांग्रे सवार र पैदल यात्रीलाई ट्राफिक नियम पालना गर्न, सधैं हेल्मेट र सिटबेल्ट लगाउन र जिम्मेवार ढंगले सवारी सञ्चालन गर्न अनुरोध गर्दछौं।”
आईएलएस अस्पतालका वरिष्ठ उपाध्यक्ष तथा व्यापार विकास प्रमुख देबाशिष धरका अनुसार, “जीपीटी हेल्थकेयरमा हामी विश्वास गर्छौं कि रोकथाम जीवन बचाउने पहिलो कदम हो। ‘घोरे फेरार अंगीकार’ अभियानमार्फत हामी सबैलाई सम्झाउन चाहन्छौं—सडक सुरक्षा केवल नियम होइन, यो हाम्रो आफ्नै र हाम्रा प्रियजनप्रति जिम्मेवारी पनि हो।”
त्यस्तै, आईएलएस अस्पताल दमदमका युनिट प्रमुख वैशपायन मुखर्जीले भने, “आघातको अवस्थामा समयमै र सही प्रतिक्रिया नै जीवनरक्षक हुन सक्छ। यस अभियानमार्फत हामी प्रहरी र आपतकालीन कर्मचारीहरूलाई आवश्यक ज्ञान र सीपले सशक्त बनाउँदैछौं।”
अभियानअन्तर्गत विश्व बंगला मोड, नागेर बजार मोड र एयरपोर्ट गेट नं. १ लगायतका प्रमुख स्थानहरूमा मोटरसाइकल चालकहरूलाई हेल्मेट वितरण गरिएको थियो। साथै, आईएलएस अस्पताल दमदमका विशेषज्ञ चिकित्सकहरूले बारानगर, बेलघोरिया र दमदम प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी र एम्बुलेन्स टोलीका लागि सीपीआर तथा ट्रमा ह्यान्डलिङ तालिम संचालन गरे।
उक्त तालिममा आधारभूत जीवन समर्थन (बीएलएस), ट्रमा मोबिलाइजेसन तथा आपतकालीन बिरामी व्यवस्थापनका विषय समेटिएका थिए। तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीहरूलाई आईएलएस अस्पतालले प्रमाणपत्र प्रदान गरेको थियो।
आईएलएस अस्पताल समूहले यो अभियानमार्फत ट्रमा हेरचाह, आपतकालीन तयारी र सामुदायिक कल्याणप्रतिको आफ्नो प्रतिबद्धता झल्काएको छ। यसले संस्थालाई पूर्वी भारतमा ट्रमा र आकस्मिक व्यवस्थापनमा अग्रणी स्वास्थ्य संस्थाका रूपमा पुनः स्थापित गरेको छ।









