भद्रपुरमा छठ पूजा: मेची घाटमा गंगा आरती सम्पन्न

IMG-20251027-WA0161

भद्रपुर: झापाको भद्रपुरस्थित मेची नदीमा कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको रूपमा भव्य रूपमा छठ पर्व मनाइएको छ। नेपाल र भारततिरबाट वारिपारि हजारौं नागरिक सहभागी भएका थिए।
तराइबासीहरूको महत्वपूर्ण पर्व भए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बंगाली लगायत विभिन्न जात जातिका समुदायहरूले साझा सहभागिता जनाउँदै अस्ताउँदै सूर्यलाई अर्घ दिएका छन्।
नेपाल-भारत सिमावर्ती क्षेत्रमा पर्ने यस पर्वमा पूजा स्थल निर्माणका लागि ३ किलोमिटर क्षेत्रमै वारिपारी दुवै पट्टि आयोजना गरिएको थियो। सुरक्षा दृष्टिले नेपाल र भारतका सुरक्षा कर्मीहरूले सम्युक्त गस्ती राखेका थिए। विभिन्न सामाजिक संघसंस्थाले मेलामा सहभागी भक्तजनको लागि पानी, चिया लगायतका सुविधा नि:शुल्क उपलब्ध गराएका थिए।


पछिल्ला वर्षहरूमा भद्रपुर र भारतको गलगलिया क्षेत्रका स्थानीयहरूले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा मनाउन थालेका छन्। छठ पर्व चार दिनसम्म मनाइने हुन्छ। यसमा तेस्रो दिन बेलुकी अस्ताउँदै सूर्यलाई अर्घ दिने र चौथो दिन विहान उदाउँदै सूर्यलाई अर्घ चढाएर पर्व सम्पन्न हुने गर्छ। मैथिल समाजका अग्रज विकासकुमार गुप्ताका अनुसार, जन सहभागिताको दृष्टिले भद्रपुर नेपालमै जनकपुरपछिको दोस्रो ठाँउमा पर्छ।
झापाका मेची निन्दा, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काइ नदी, रतुवा खोला लगायतका किनारमा पनि भव्य रूपमा सजावट गरी छठ पूजा आयोजना गरिएको छ। जन सहभागिताको हिसाबले भद्रपुरस्थित मेची घाट सबैभन्दा व्यस्त हुन्छ।


यसैबीच, छठ पर्वको अवसरमा मेची घाटमा रहेको छठी माता मन्दिर परिसरमा गंगा आरती आयोजना गरिएको थियो। नगर प्रमुख गणेश पोखरेलले आरतीको उद्घाटन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement