सिडनी: भारतले वनडे सीरीजको तेस्रो तथा अन्तिम म्याचमा अष्ट्रेलियालाई सजिलैसँग ९ विकेटले पराजित गऱ्यो। यस हारपछि पनि अष्ट्रेलियाले ३ वटा म्याचको सीरीज चाहिँ २-१-ले जित्यो तर शनिवार हासिल भएको जीतले भारतीय टीमले टी२० सीरीज अघि जरूरी आत्मविश्वास हासिल गऱ्यो। भारतलाई आज एकतर्फी जीत दिलाउनमा दुईजना दिग्गज रोहित शर्मा र विराट कोहलीको महत्त्वपूर्ण योगदान रह्यो। रोहितले अविजित १२१ र कोहलीले अविजित ७४ रन बनाएर अष्ट्रेलियाई टीमको चुनौतीलाई किनारा लगाए। सिडनी क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलिया ४६.४ ओभरमा २३६ रन बनाएर अलआउट भयो। त्यसपछि भारतले ३८.३ ओभरमै केवल एक विकेट गुमाएर २३७ रनको लक्ष्यलाई हासिल गऱ्यो। भारतीय टीमलाई पूर्व कप्तान रोहित शर्माले असल शुरुवात दिलाए। उनले वर्तमान कप्तान शुभमन गिलसँग मिलेर पहिलो विकेटको निम्ति १०.२ ओभरमा ६९ रनको पार्टनरशीप गरे। असल लयमा देखिएका गिल २४ रन बनाएर जोश हेजलवुडको बलमा आउट भए। उनले २६ बल खेलेर २ वटा चौका र एउटा छक्का लगाए। कप्तानलाई गुमाएपछि रोहित र कोहलीले मिलेर भारतलाई जीत दिलाए। शुरुमा धैर्यको साथ खेले पनि विकेटमा सेट भएपछि यी दुई दिग्गजले आरामसँग रन बनाए। रोहित र कोहलीले मिलेर १७० बलमा १६८ रनको अटूट पार्टनरशीप गरेर भारतलाई जीत दिलाए। रोहितले आज वनडे क्रिकेटमा आफ्नो ३३औं शतक बनाए। उनले १२५ बल खेलेर १३ वटा चौका र ३ वटा छक्का लगाए। यसरी कोहलीले ७ वटा चौकाको साथ ८१ बलमा अविजित ७४ रन बनाए। यसअघि पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाको निम्ति शीर्ष क्रममा सबैले असल शुरुवात गरे पनि म्याट रेनशालाई छोड़ेर कसैले पनि लामो ईनिंग्स खेल्न सकेनन्। कप्तान मिचेल मार्शले ट्रेविस हेडसँग मिलेर ९.२ ओभरमा ६१ रनको पार्टनरशीप गरी टीमलाई असल शुरुवात दिलाए पनि लगातार अन्तरालमा विकेटको पतनले गर्दा अष्ट्रेलियाले ठूलो स्कोर बनाउन सकेन। चौथो नम्बरमा ब्याटिंग गर्दै रेनशाले सर्वाधिक ५६ रन बनाए। उनले ५८ बल खेलेर २ वटा चौकाको साथ ५६ रन बनाए। यसबाहेक कप्तान मार्शले ४१, म्याथ्यू शर्टले ३०, हेडले २९, एलेक्स केरीले २४ र कूपर कोनोलीले २३ रनको योगदान दिए। भारतीय बलरहरूमा हर्षित राणाले सर्वाधिक ४ विकेट लिए। रोहित शर्माले प्लेयर अफ् द म्याचको पुरस्कार जिते।










