काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न थालेको छ। मङ्गलबार र बुधबार सुनको मूल्यमा झण्डै ७ प्रतिशतको गिरावट देखिएको हो।
सोमबार सुनको मूल्य प्रतिऔंस ४ हजार २६७ डलर पुगेको थियो। मङ्गलवार बजार खुल्दा सुन ४ हजार ३६६ डलरमा प्रतिऔंसमा कारोबार भएको थियो। तर, अन्तिम समयमा उक्त मूल्य ४ हजार १२५ डलरमा झरेको हो । यो ५।२९ प्रतिशतको गिरावट हो।
मङ्गलबार ४ हजार १२४ अमेरिकी डलरबाट कारोबार शुरु भएको सुन यो समाचार तयार पार्दासम्म १.५२ प्रतिशतले घटेर ४ हजार ६४ अमेरिकी डलर प्रतिऔंसमा कारोबार भइरहेको छ।
नेपालमा भने तिहारको सार्वजनिक बिदाको कारण नयाँ मूल्यदर तोकिएको छैन। तर, अन्तर्राष्ट्रिय बजारको आधारमा मूल्य घट्दा झण्डै १५ हजार रुपैयाँ भन्दा धेरै मूल्य सस्तो हुने देखिन्छ।
अहिले बजारमा सुन सस्तो हुनुको कारणलाई अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको स्थिरताको सङ्केतलाई मुख्य कारण देखिएको छ। केही दिनअघि मात्रै युक्रेनका राष्ट्रपतिले थप हतियारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेका थिए।
तर, ट्रम्पले भने अब मर्न र मार्न बन्द गर्नुपर्ने भन्दै युद्ध अन्त्य गर्नुपर्ने बाटो खोज्न सुझाएका थिए। यही कारणले अहिले सुनको मूल्यमा अल्पकालीन गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





