एडिलेड: भारतीय टीम अष्ट्रेलियाविरुद्ध २३ अक्टोबरमा खेलिने दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचको निम्ति पर्थबाट एडिलेड पुग्यो। भारतीय टीम अहिले ३ वटा म्याचको सीरीजमा ०-१-ले पछि रहेको छ अनि टीमको लक्ष्य पुनरागमन गर्नु रहेको छ। शुभमन गिलको कप्तानीमा रहने भारतीय टीम तिहारको दिन नै एडिलेड पुग्यो, जहाँ एयरपोर्टमा भारतीय प्रशंसकहरूले टीमलाई भव्य स्वागत जनाए। प्रशंसकहरूले विशेषगरी रोहित शर्मा र विराट कोहलीको जयजयकार गरे। रोहित र कोहली सात महिनाको ब्रेकपछि १९ अक्टोबरमा इण्टरनेशनल म्याच खेल्न मैदानमा ओर्लिएका थिए। यी दुईजना दिग्गज २२३ दिनपछि भारतीय टीमको निम्ति खेल्न ओर्लिएका थिए तर म्याचमा आशानुरुप प्रदर्शन गर्न सकेनन्। रोहित र कोहलीले आधा घण्टा पनि क्रीजमा बिताउन सकेनन्। रोहित १४ बलमा ८ रन बनाएर आउट भए। यसरी कोहलीले त खाता पनि खोल्न सकेनन् अनि मिचेल स्टार्कको शिकार बने। अब यी दुवै दिग्गज दोस्रो वनडे म्याचमा आफ्नो सर्वश्रेष्ठ फर्म देखाउन चाहन्छन्।
एडिलेड एयरपोर्टमा भारतीय टीमलाई स्वागत जनाउन भारी संख्यामा प्रशंसकहरू आएका थिए। सोशल मीडियामा एउटा भीडियो भायरल भइरहेको छ, जसमा प्रशंसकहरूलाई रोहित-कोहलीको साथमा भारतीय टीमको स्वागत गर्न ब्यानर लिएर उभिएको देखिएको छ। केही प्रशंसक त ब्याण्ड बाजा लिएर टीमलाई स्वागत जनाउन आएका थिए। प्रशंसकहरूले यस अवसरमा भारतीय खेलाड़ीहरूलाई तिहारको शुभकामना पनि दिए। भारतले पर्थमा खेलिएको वर्षा वाधित म्याचमा ७ विकेटले हारको सामना गर्नु परेको थियो। अब अझ एउटा म्याच हार्नुको अर्थ नै सीरीज गुमाउनु हुनेछ। यसैकारण भारतीय टीम जीतको साथ सीरीजमा पुनरागमन गर्ने लक्ष्य लिएर मैदानमा ओर्लिनेछ। दोस्रो वनडे म्याचमा पनि सबैको नजर रोहित र कोहलीमाथि रहनेछ। यसबाहेक कप्तान शुभमन गिलको प्रदर्शनमाथि पनि विशेष नजर रहनेछ, जसले पहिलो म्याचमा ब्याटको साथ विशेष योगदान दिन सकेका थिएनन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





