आज साँझ लक्ष्मीको पूजा आराधना गरिँदै, कति बेला छ शुभसाइत?

IMG-20251020-WA0017

बिर्तमोड: यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ। लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष लक्ष्मीपूजाको शुभ साइत बेलुकी ७:०८ बजेदेखि ८:१८ बजेसम्म रहनेछ।
आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी साँझ दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्याङलगायत स्थानमा सरसफाई गरी दीपावली गरिन्छ।
लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।
लक्ष्मी माताको मन्त्र
“ॐ ह्रीं श्रीं लक्ष्म्यै नमः॥”
“ॐ ह्रीं श्रीं क्लीं धन लक्ष्म्यै नमः॥”
“ॐ महालक्ष्म्यै च विद्महे विष्णु पत्न्यै च धीमहि, तन्नो लक्ष्मीः प्रचोदयात:।।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement