नयाँ दिल्ली: भारतीय काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो दाबीमाथि प्रतिक्रिया जनाउँदै भनेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदी, ट्रम्पसँग डरिएका छन्।”
ट्रम्पले दाबी गरेका छन् कि प्रधानमन्त्री मोदीले उनलाई व्यक्तिगत रूपमा आश्वासन दिएका छन् कि भारत अब रूसबाट तेल खरिद गर्ने छैन।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका थिए, “मोदी मेरा मित्र हुन्, हाम्रो सम्बन्ध निकै राम्रो छ। मेरा मित्रले मलाई आश्वासन दिएका छन् कि रूसबाट अब तेल किनिने छैन।”
राहुल गान्धीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भने — “प्रधानमन्त्री मोदीले ट्रम्पलाई भारतको तर्फबाट घोषणा गर्न अनुमति दिए कि भारत अब रूसी तेल किन्ने छैन। उनी बारम्बार आलोचनाका बाबजुद ट्रम्पको प्रशंसा गर्दै आइरहेका छन्।”
काँग्रेस महासचिव जयराम रमेशले आरोप लगाउँदै भने — “प्रधानमन्त्री मोदीले देशका प्रमुख निर्णयहरू अमेरिका मातहत आउटसोर्स गरेका जस्तो देखिन्छ।”
उनका अनुसार वित्तमन्त्रीको अमेरिका भ्रमण रद्द गरिएको छ, शर्म अल-शेख सम्मेलनमा सहभागिता नभएको छ, र ‘अपरेशन सिन्दूर’बारे ट्रम्पको दाबीको खण्डन पनि गरिएको छैन।
राहुल गान्धीका अनुसार ट्रम्पले अहिलेसम्म ५१ पटक भारत–पाक युद्ध रोक्न आफूले हस्तक्षेप गरेको दाबी गरिसकेका छन्, तर प्रधानमन्त्री मोदी मौन रहेका छन्।
गान्धीले व्यङ्ग्य गर्दै भने, “५६ इन्चको छाती अहिले सुक्किन पुगेको छ।”