नयाँ दिल्ली: भारतले दिल्लीको अरुण जेटली स्टेडियममा खेलिएको दोस्रो क्रिकेट टेस्ट म्याचमा वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गऱ्यो। यस जीतको साथै भारतले २ वटा टेस्ट म्याचको सीरीज पनि २-०-ले क्लीन स्वीप गऱ्यो। म्याच जित्न भारतलाई १२१ रन बनाउने लक्ष्य प्राप्त भएको थियो अनि आयोजक टीमले पाँचौं दिन ३ विकेटमा १२४ रन बनाएर जीत हासिल गऱ्यो। भारतले आफ्नो दोस्रो ईनिंग्समा ओपनर यशस्वी जयसवाल (८), साई सुदर्शन (३९) र कप्तान शुभमन गिल (१३ रन)-को विकेट गुमायो। यसमा जयसवाल सोमवार नै आउट भएका थिए। ओपनर केएल राहुलले अन्तसम्म क्रीजमा रहेर टीमलाई सजिलै जीत दिलाए। राहुलले १०८ बल खेलेर ६ वटा चौका र २ वटा छक्का लगाए। यो उनको टेस्ट करियरको २०औं अर्द्धशतक हो। यसरी विकेटकीपर ब्याटर ध्रुव जुरेल ६ रनमा अविजित रहे। भारतको दोस्रो ईनिंग्समा वेष्ट इण्डिजका बलरहरूमा कप्तान रोस्टन चेसले २ र जोमेर वारिकनले १ विकेट लिए। चौथो दिनको स्कोर १ विकेटमा ६३ रनदेखि अघि खेल्दै भारतले मंगलवार २ विकेट गुमाएर पहिलो सेशनको खेलमै म्याच जित्यो। भारतले यसअघि अहमदाबादमा खेलिएको सीरीजको पहिलो टेस्ट म्याच ईनिंग्स र १४० रनले जितेको थियो। दोस्रो टेस्ट म्याचमा भारतले ५ विकेटमा ५१८ रन बनाएर आफ्नो पहिलो ईनिंग्स घोषित गरेको थियो। त्यसपछि वेष्ट इण्डिजले पहिलो ईनिंग्समा २४८ रन बनाउँदा भारतले २७० रनको बढ़त हासिल गरेको थियो। त्यसपछि भारतले वेष्ट इण्डिजलाई फलोअन गर्न लगाएको थियो अनि भ्रमणकारी टीमको दोस्रो ईनिंग्स ३९० रनमा समाप्त भएको थियो। यसरी वेष्ट इण्डिजले जम्मा १२० रनको बढ़त हासिल गर्दा भारतलाई म्याच जित्न १२१ रन बनाउने लक्ष्य प्राप्त भएको थियो।
यो शुभमन गिलको कप्तानको रूपमा पहिलो टेस्ट सीरीज जीत हो। उनलाई ईंग्ल्याण्डविरुद्ध गत सीरीजको अवधि टेस्ट कप्तान नियुक्त गरिएको थियो। ईंग्ल्याण्डमा खेलिएको ५ वटा टेस्ट म्याचको सीरीज २-२-को बराबरीमा समाप्त भएको थियो। त्यसपछि गिलको कप्तानीमा भारतले वेष्ट इण्डिजविरुद्ध घरेलु टेस्ट सीरीज २-०-ले क्लीन स्वीप गऱ्यो। वेष्ट इण्डिजविरुद्ध २ वटा टेस्टमा एउटा शतक (अविजित १०४) बनाउनको साथै ८ विकेट लिने रविन्द्र जडेजाले प्लेयर अव् द सीरीजको पुरस्कार जिते। यसरी दोस्रो टेस्टमा जम्मा ८ विकेट लिने स्पिनर कुलदीप यादवले प्लेयर अव् द म्याचको पुरस्कार जिते। कुलदीपले दोस्रो टेस्टमा वेष्ट इण्डिजको पहिलो ईनिंग्समा ५ विकेट लिएका थिए।