काबुल: योस हप्ता काबुलमा भएका शक्तिशाली विस्फोटपछि अफगान तालिबानले पाकिस्तानी सीमा चौकीमा आक्रमण गर्दा पाकिस्तान–अफगानिस्तान सीमामा गोलीबारी भएको छ।
तालिबानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विस्फोटका लागि पाकिस्तानलाई दोष दिएको छ। तालिबानले पाकिस्तानी सेनालाई परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। तर पाकिस्तानले स्पष्ट प्रतिक्रिया दिएको छैन।
रोयटर्सले दुवै देशका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै शनिबार राति सीमाका धेरै स्थानमा भीषण झडप भएको बताएको छ। पाकिस्तानी सुरक्षा अधिकारीले अफगानिस्तानबाट भएको बिना उक्साहट गोलीबारीको जवाफ पूर्ण शक्तिका साथ दिइरहेको बताएका छन्। सीमामा ६ भन्दा बढी स्थानमा गोलीबारी भएको उनीहरूले उल्लेख गरेका छन्।
तालिबान सेनाले तीन पाकिस्तानी सीमा चौकी कब्जा गरेको दाबी गरेको छ भने पाकिस्तानी सुरक्षा अधिकारीले आफ्नो सेनाले धेरै अफगानी चौकी ध्वस्त पारेको बताएका छन्।
तालिबानको रक्षा मन्त्रालयले अफगान भूमिमा हालै गरिएका पाकिस्तानी सैन्य कारबाहीको जवाफमा सीमापार पाकिस्तानी सेनामाथि ठुलो मात्रामा बदला लिने आक्रमण शुरु गरेको बताएको छ।
बीबीसी उर्दूका अनुसार पाकिस्तानका सैन्य स्रोतले कारबाहीको पुष्टि गरेका छन्। यस्तै अफगान आक्रमणको कडा जवाफ दिँदै धेरै चौकी ध्वस्त पारेको दाबी गरेका छन्।
यस विषयमा पाकिस्तानबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन।
यसैबीच अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी आक्रमणको जवाफमा गरिएको कारबाहीमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरेका छन्।
आइतबार काबुलमा एक पत्रकार सम्मेलनको क्रममा जबिहुल्लाह मुजाहिदले प्रतिशोधात्मक कारबाहीमा २० पाकिस्तानी चौकी कब्जा गरिएको र लडाई समाप्त भएपछि फिर्ता गरिएको उल्लेख गरे।