दोस्रो टेस्टको पहिलो दिन नै भारत मजबूत स्थितिमा

IMG-20251010-WA0117

नयाँ दिल्ली: भारतले ओपनर यशस्वी जयसवालको शतकीय ईनिंग्स (अविजित १७३ रन)-को सहायताले वेष्ट इण्डिजविरुद्ध दोस्रो टेस्ट म्याचको पहिलो दिन नै आफ्नो स्थिति मजबूत बनायो। भारतले शुक्रवार पहिलो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा २ विकेट गुमाएर ३१८ रन बनायो। जयसवालले आज आफ्नो टेस्ट करियरको सातौं टेस्ट शतक बनाए। यसबाहेक साई सुदर्शनले पनि ८७ रनको योगदान दिए। दिनको खेल समाप्त हुँदासम्म जयसवालसँग कप्तान शुभमन गिल २० रन बनाएर क्रीजमा अविजित रहे। दोहोरो शतकको नजिक पुगिसकेका जयसवालले २५३ बल खेलेर २२ वटा चौका लगाएका छन्। वेष्ट इण्डिजको तर्फबाट आज दिनको दुवै विकेट जोमेल वारिकनले हासिल गरे। अरुण जेटली स्टेडियममा आज टस जितेर पहिला ब्याटिंग गर्दै भारतीय टीमलाई जयसवाल र केएल राहुलको ओपनिंग जोड़ीले असल शुरुवात दिलायो। यी दुईजनाले पहिलो विकेटको निम्ति ५८ रनको पार्टनरशीप गरे। असल फर्ममा रहने राहुल आक्रामक शट् खेल्ने प्रयासमा स्टम्प्ड भए। उनले ५ वटा चौका र एउटा छक्काको साथ ३८ रन बनाए। राहुल आउट भएपछि जयसवालले सुदर्शनबाट असल साथ पाए। यी दुईजनाले मिलेर धैर्यको साथ खेल्दै क्यारेबियन बलरहरूलाई हत्तूहैरान पारे। जयसवाल र सुदर्शनले दोस्रो विकेटको निम्ति १९३ रनको पार्टनरशीप गरे। शतकको दिशामा अग्रसर सुदर्शन पहिलो दिन आउट हुने दोस्रो तथा अन्तिम भारतीय रहे, जसले १२ वटा चौकाको साथ १६५ बल खेलेर ८७ रन बनाए। त्यसपछि जयसवालले कप्तान गिलसँग मिलेर दिनको अन्तसम्म लड़ाइँ जारी राखे। गिलले ६८ बल खेलेर ३ वटा चौका लगाइसकेका छन्। दुईवटा टेस्ट म्याचको सीरीजमा अहिले भारत १-०-ले अघि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement