१०४ वर्षीय बौध्द धर्म गुरु स्याङ्देन म्हेम्हे (चन्द्रवीर लामा) को निधन

IMG-20251010-WA0123

अन्तिम संस्कार सोमबार गरिने

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार बाघमारा निवासी १०४ वर्षीय बौध्द धर्म गुरु स्याङ्देन म्हेम्हे (चन्द्रवीर लामा) को निधन भएको छ। उनी बाघमारा बस्तीमा रहेको झ्याङतेर सामतेलिन छ्योलिङ गुम्बाको‌‌ संस्थापक साथै प्रमुख लामा स्याङ्देन म्हेम्हेको जन्म सन् १९२१ मा भएको थियो। उनले बाघमारा बस्तीदेखि लिएर सिविटार, महानदी, तीनधारे, खरसाङ, कालेबुङ, सिलगढी, डुवर्स, सिक्किम साथै नेपालसम्म आफ्नो चेला बनाएका थिए। उनी बज्रयानाको प्रमुख लामा रहेका थिए। उनको निधन बिहीबार राती १०:३० बजीतिर भएको छ। उनले आफुपछि चारजना छोराहरु र तीनजना छोरीहरु साथै नाता नातिनीहरु र पनाति पनातिनीहरु छोडी गएका छन्। उनको अन्तिम संस्कार आगमी सोमबार गरिने भएको छ। स्याङ्देन म्हेम्हेको निधन भएपछि लगातार रुपमा बौध्द धर्म अनुसार दीप प्रज्ज्वलन र पूजा पाठ – सिठी पाठ भइरहेको जानकारी प्राप्त भएको छ। उनको निधनपछि सिलगढीको मिलनमोडबाट वरिष्ठ लामा, खरसाङको मन्टिभियटबाट प्रमुख गुरु प्रताप लामा र टोली उपस्थित भएका छन्। त्यसरी नै तीनधारेको पद्ममा छ्योलिङ म्हाणिपा संघका आनीहरुद्वारा म्हाने मोलम‌ गरिरहेको जानकारी प्राप्त भएको छ। स्याङ्देन म्हेम्हेको अन्तिम संस्कार लामतेन गर्न सोमबार बिहान ७ बजीको साइत रहेको र उनको पार्थिव शरीरलाई बाघमारा बस्तीमा अवस्थित गुम्बामा लगेर पूजा पाठ गरिने साथै कोरबा परिक्रमा गरेर निजी जमीनमा नै अन्तिम संस्कार गरिने भएको परिवार पक्षबाट जेठा छोरा एंव बौध्द धर्म गुरु मिकमा लामाले बताएका‌ छन्। उनले बताए अनुसार बौध्द धर्म गुरु स्याङ्देन म्हेम्हेको अन्तिम संस्कार सोमबार खरसाङको मन्टिभियटका‌बौध्द धर्म गुरु टाँसी टुल्कुको विशेष उपस्थितिमा गरिने भएको छ।
स्याङ्देन म्हेम्हेको निधनमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, कर्माध्यक्ष दावा वाङ्दी लामा, पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ, दिपेन्द्र तामाङ, बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे लगायत स्थानीयहरु र अन्यले श्रध्दाञ्जली अर्पण गरेका छन्। उनको निधनमा जीटीए प्रमुख अनित थापा, दार्जिलिङका सांसद राजु विष्ट, खरसाङका विधायक बीपी बजगाईं आदिले पनि समाजिक सञ्जालमा फोटो सेयर गरेर श्रध्दाञ्जली अर्पण गरेका छन्। उनको निधन र अन्तिम संस्कार विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जेठा छोरा एंव बौध्द धर्म गुरु मिकमा लामा, बाघमारा बस्तीको झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बाको‌‌ उप सभापति विवेक लेप्चा, पञ्चायत सदस्य राजीव तामाङ र बौद्ध धर्म गुरु एंव म्हेम्हेको शिष्य पेम्बा रिम्पोर्छेले विस्तृत रुपमा जानकारी गराएका छन्। स्याङ्देन म्हेम्हे चन्द्रवीर लामाले बाघमारा बस्तीमा सन् १९९७ देखि झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बा निर्माण गरेर शुरु गरेका थिए। उनी जवान अवस्थामा हुँदा दोस्रो विश्व युद्धको अन्तिम समयतिर युध्दमा पनि गएको जानकारी रहेको छ।उनी यस क्षेत्रको लागि शताब्दी देखेका एकजना ऐतिहासिक व्यक्तित्त्व, समाजसेवी साथै बौध्द धर्म गुरु रहेका थिए। उनको निधनमा यस क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement