पैह्रो पिढितहरुलाई भेट गर्नुको साथै सहयोगको आश्वासन
सोनादा: दार्जिलिङ संसदीय क्षेत्रका सांसद राजु विष्टले आज रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुराको विभिन्न पैह्रो प्रभावित क्षेत्रहरुको निरीक्षण भ्रमण गरेका छन्। यसावधि सांसद राजु विष्ट सोनादाको ग्यारेज लाइन रोड भएर पचेङ हुँदै रंगमुक चियाबारी भएर चन्द्रमानधुरा पुगेका छन्। उनले चन्द्रमानधुराको विभिन्न पैह्रो प्रभावित क्षेत्रहरुको निरीक्षण गर्नुको साथै पैह्रो प्रभावित परिवारहरुसित भेटघाट गरेका छन्। सांसद राजु विष्टले सर्वप्रथम चन्द्रमानधुरा प्राथमिक पाठशालामा रहेको रिलिफ क्याम्पको पैह्रो प्रभावित व्यक्तिहरुसित भेटघाट गरेर समस्या बुझेका थिए। त्यसपछि उनले रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुरा अन्तर्गत सुब्बा गाउँ, बस्नेत गाउँ, खालिङ गाउँ लगायत शान्तिधुरा ग्राम सुधार समाज अन्तर्गत रहेका पैह्रो प्रभावित स्थानहरुको निरीक्षण भ्रमण गर्दै मानिसहरुको समस्या बुझ्ने काम गरेका थिए। यसावधि सांसद राजु विष्टले पैह्रो प्रभावित क्षेत्रहरुको लागि स्थानीय समाजलाई लिखित रुपमा सांसदलाई लेखेर दिने अनुरोध गर्दै यस पैह्रो प्रभावित क्षेत्रहरुको लागि काम गरिदिने आश्वासन दिएका छन्। चन्द्रमानधुरा क्षेत्रको विभिन्न पैह्रो प्रभावित स्थानहरुको निरीक्षण गरेपछि सांसद राजु विष्टले चन्द्रमानधुरास्थित पूर्व सांसद आरबी राईको घरमा पुगेर भेटघाट साथै भराकुसारी पनि गरेका थिए। पूर्व सांसद आरबी राई र उनको परिवारले सांसद राजु विष्ट र उनको टिमलाई स्वागत जनाएका थिए। यसावधि सांसद राजु विष्टसित जीटीएको डेपुटी चेयरम्यान एंव रंगबुल धोत्रे रंगमुक समष्टिको सभासद राजेस चौहान लगायत भारतीय जनता पार्टीको जिल्ला महासचिव सोनाम लामा, सचिव बिनय प्रसाद, राजेन मुखिया, उध्दव खनाल लगायत अन्यहरु उपस्थित रहेका थिए। चन्द्रमानधुरा क्षेत्रको विभिन्न स्थानहरुमा पैह्रोले लगभग ४४ घर परिवारहरुलाई प्रभावित बनाएको बताइएको छ। चन्द्रमानधुरा अन्तर्गत सुब्बा गाउँको पैह्रोले प्रभावित २९ घर परिवारहरुलाई चन्द्रमानधुरा प्राथमिक पाठशालाको रिलिफ क्याम्पमा राखिएको छ। यस सुब्बा गाउँमा पैह्रोले गाउँ नै लागेको छ भने एक घरलाई माथिबाट झरेको ठूलो ढुंगा र पैह्रोले थिचेर नष्ट गरेको छ भने उक्त गाउँ नै पैह्रोले उठाईदिएको छ। उक्त पैह्रो प्रभावित क्षेत्रहरुको निरीक्षण भ्रमण गरेपछि पैह्रो क्षेत्रमा नै पत्रकारहरुलाई सम्बोधन गर्दै सांसद राजु विष्टले दार्जिलिङ पहाडमा प्राकृतिक आपदाले धेरै क्षति गरेको र पैह्रोमा परेर मृत्यु हुनेहरुप्रति श्रध्दाञ्जली अर्पण गरेका छन्। उनले पहाडमा आएको प्राकृतिक प्रकोपको क्षय क्षतिको लागि स्थानीय प्रशासन जीटीए, विधायक, सांसद सबै मिलेर सहयोग गर्ने बताए। सांसद राजु विष्टले आज आफुले चन्द्रमानधुरा क्षेत्रको पैह्रो प्रभावित क्षेत्रहरुको निरीक्षण भ्रमण गरेर दिल्लीमा गृहमन्त्रीलाई रिपोर्ट बुझाउने बताए। उनले पहाडमा भएको प्रकोपको निरीक्षण गर्नलाई प्रधानमन्त्री नरेन्द्र मोदीले आफै केन्द्रीय मन्त्री किरण रिजिजुलाई पठाएको र उनले सबै निरीक्षण गरेर गएको पनि बताएका छन्।