नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका पूर्व ब्याटर तथा चयनकर्ता कृष्णमाचारी श्रीकान्तले अष्ट्रेलियाविरुद्ध खेलिने वनडे सीरीजको निम्ति टीम इण्डियाबाट सञ्जु सेमसनलाई बाहिर राख्ने फसेलामाथि असन्तुष्टि र ध्रुव जुरेलको चयनमाथि आश्चर्य व्यक्त गरेका छन्। श्रीकान्तले बताएअनुसार, चयनकर्ताहरूले एकपल्ट फेरि सेमसनसँग अन्याय गरेका छन् जबकि उनले आफ्नो अन्तिम वनडे म्याचमा शतक बनाएका थिए। श्रीकान्तले आफ्नो यूट्यूब च्यानलमा भनेका छन्, फेरि त्यही कहानी। सञ्जुसँग ठूलो अन्याय भयो। उनले आफ्नो अन्तिम वनडे म्याचमा शतक बनाएका थिए तर पनि उनलाई टीममा स्थान दिइएन। यसरी कुनै एकजना खेलाड़ीलाई बीच-बीचमा खेलाएर फेरि अचानक बाहिर गरिन्छ। यो सही होइन। उल्लेखनीय छ, सेमसनले अहिलेसम्म वनडे इण्टरनेशनलमा १४ वटा ईनिंग्समा ५६.७-को औसतले ५१० रन बनाएका छन्। यस अवधि उनको स्ट्राईक रेट ९९.६-को रहेको छ। उनले एउटा शतक र ३ वटा अर्द्धशतक बनाएका छन्। यसरी १०८ रन उनको सर्वश्रेष्ठ स्कोर रहेको छ।
श्रीकान्तले चयन समितिसँग ध्रुव जुरेललाई अचानक टीममा कसरी सामेल गरियो भन्ने प्रश्न पनि गरेका छन् जबकि उनीसँग वनडे इण्टरनेशनल क्रिकेटको कम्ती अनुभव रहेको छ। उनले भने, एक दिन सञ्जुलाई ५ नम्बरमा खेलाइन्छ तर कुनै समय ओपनिंग गराइन्छ। फेरि कुनै दिन ७ या ८ नम्बरमा ब्याटिंग गर्न पठाइन्छ। यसरी त खेलाड़ीको मनोबल माटोमा पुग्छ। यसबाहेक अचानक ध्रुव जुरेल टीममा कसरी आए ? टीममा स्थान भए सञ्जुले पहिला मौका पाउनु पर्ने थियो। पूर्व चयनकर्ताको भनाइअनुसार, केएल राहुललाई विकेटकीपर ब्याटरको रूपमा सामेल गर्नु सही फसेला हो तर सेमसनलाई ब्याकअप विकल्पको रूपमा टीममा राख्नु पर्ने थियो। श्रीकान्तले चयनकर्ताहरूका लगातार टीममा बद्लाउ गर्ने नीतिमाथि पनि प्रश्न उठाएका छन्। उनले भने, यसरी टीममा लगातार बद्लाउ गरिँदा खेलाड़ीहरू पनि असमञ्जसमा पर्नेछन्। कहिले यशस्वी जयसवाललाई टीममा राखिन्छ त कहिले फेरि बाहिर गरिन्छ। यसरी चपिंग एण्ड चेञ्जिंगले खेलाड़ीहरूका आत्मविश्वासलाई क्षति पुग्नेछ अनि फर्म पनि खराब हुनेछ। उल्लेखनीय छ, सञ्जु सेमसनलाई टीमबाट बाहिर गरिँदा सोशल मीडियामा प्रशंसक र क्रिकेट विशेषज्ञहरूले बीसीसीआईमाथि प्रश्न उठाएका छन्। अहिले श्रीकान्तको बयानले बहस अझ तेज भएको छ।