भाषाको अवस्था
नेपाली भाषाको विकास र प्रचारमा पत्रकारिताको ठूलो भूमिका रहेको छ। पत्रकारिता सामाजिक, राजनैतिक, शैक्षिक, साहित्यिक, कला-संस्कृति, खेलकूदजस्ता विभिन्न विषयहरूलाई समेट्न सक्ने सशक्त माध्यम हो। कारण पत्रकारिताको क्षेत्रले नै धेरै सङ्ख्यामा नेपाली पाठकहरू समेटेर राख्नसकेको छ। तर, वर्तमान समयमा भाषाको अवस्था हेर्दा उस्तो सन्तोषजनक छैन। भारतमा नेपाली जातिको जुन डेढ करोड भन्दा बढी जनसङ्ख्याको आकँडा देखाउने गरिन्छ त्यस हिसाबमा पाठकहरूको सङ्ख्या देखिँदैन। कतिले पाठकहरूको सङ्ख्या घटेको बताउँछन्।
नेपाली भाषा हिजोआज काम चलाउको रूपमा मात्र प्रयोग हुन थालेको छ। ‘म त नेपालीमा खतम् छु’ ‘मलाई त राम्रो नेपाली आउँदैन’ भन्दा एक किसिमको गर्व महसुस गरिन्छ। अनि यस्तो गर्व गर्नु थेगोजस्तै भएको छ। थानामा प्राथमिकी दर्ता गर्दा नेपालीमा लेख्न पाइन्छ, सरकारी विभागहरूमा नेपालीमै पत्राचार गर्न सकिन्छ। तर, नेपालीमा लेख्न लाज मान्ने गर्छन्। नेपालीमा लेख्दा कतै अल्पशिक्षित सम्झिन्छन् कि भन्ने डरले भित्रभित्रै खाँदैगरहेको छ। यसले गर्दा यस्तो लाग्छ आफ्नो मातृ भाषाप्रति मोहभङ्ग हुँदै गइरहेको छ। बिस्तारै आफ्नो मातृ भाषादेखि टाडिँदै जानुको कारण के हुनसक्छ? के प्रचारप्रसार जनचेतनाको कमि हुनसक्छ? ‘आफ्नो मातृ भाषालाई माया नमार्नुहोस्’ ‘संरक्षण गर्नुहोस्’ भनेर प्रचारप्रसार गर्नु जनचेतना जगाउनु दुःखलाग्दो विषय हो। अन्य भाषाहरू सिक्नुपर्छ अनि जति सिक्यो उति राम्रो हो तर, आफ्नो भाषालाई मारेर होइन।
सरकारी प्राथमिक पाठशाला मातृ भाषाको निम्ति सशक्त माध्यम हो। मातृ भाषाको निम्ति यो बलियो आधार हो। तर, सरकारी प्राथमिक पाठशालाको अवस्था भने प्रायः अस्तित्वकै सङ्कटमा आइसकेको छ
हिजोआज स्रष्टाहरू धेरै जन्मिँदैछन् साथमा कृतिहरू पनि थ्रप्रै सृजना हुँदैछन्। यतातिर नयाँ पुस्तकहरूको सृजनामा वृद्धि भइरहेको छ भन्ने निरन्तर आयोजना भइरहने पुस्तक विमोचनका कार्यक्रमहरूले स्पष्ट पार्दछ। पुस्तकहरू सृजना हुनु भनेको कुनै पनि समाजको निम्ति ठूलो उपलब्धि हो शुभसङ्केत हो। यसले समाजको सभ्यता र बौद्धिकता दर्शाउँदछ। तर, एउटा पुस्तक तीन सयदेखि पाँच सय प्रति छापिनु भनेको पाठकको सङ्ख्या घट्दै गएको भन्ने बुझाउँछ। पाठकको सङ्ख्या घट्नुको कारण के हुनसक्छ? कहिँ पाठकले चाहेजस्तो विषयवस्तुको कमि त भएको छैन? कमजोरी कहाँ हुँदैछ के त्यसबारेमा सर्वेक्षण गर्न सकिन्छ? अर्को कुरा पाठकसितको सम्बन्धमा पनि कमि देखिन्छ। फेसबुक जस्ता सोसियल मिडियातिर हेर्दा के बुझिन्छ भने लेखक-कविहरूको आआफ्नो समूह रहेको देखिन्छ। स्रष्टा र स्रष्टाबिचमा मात्र सम्बन्ध बलियो देखिन्छ। नयाँ पाठकहरू सृजना गर्ने पहल कमजोर रहेको छ। समाजका हरेक क्षेत्र सामाजिक, राजनैतिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, सङ्गीत, चित्रकला, खेलकूदबाट साहित्य सृजना हुन्छ। तर, साहित्यिक गोष्ठीहरूमा समाजका यी सबै क्षेत्रका व्यक्तिहरूलाई सहभागिता गराइएको देखिँदैन अनि उनीहरूको विचार जान्न चाहेको पनि सुनिँदैन। उदाहरणको रूपमा खेलाडीमाथि लेखिएको कविता, कथा, उपन्यास, निबन्ध एउटा खेलाडीलाई कस्तो लाग्यो त्यसबारे उसको विचार सुनिँदैन। साहित्यिक कार्यक्रमहरूमा अङ्ग्रेजी माध्यमका विद्यार्थीहरूलाई थोरै मात्रामा सहभागी बनाउनु अर्को कमजोरी हो।
भाषाको घडेरी सरकारी प्राथमिक पाठशाला
सरकारी प्राथमिक पाठशाला मातृ भाषाको निम्ति सशक्त माध्यम हो। मातृ भाषाको निम्ति यो बलियो आधार हो। तर, सरकारी प्राथमिक पाठशालाको अवस्था भने प्रायः अस्तित्वकै सङ्कटमा आइसकेको छ। बर्सेनी विद्यार्थीहरूको सङ्ख्या घट्दै गइरहेका छन्। कतिवटा पाठशालामा भने १० जना जति मात्र विद्यार्थी होला। शिक्षक नियुक्तिको निम्ति गतिलै होड़बाजी चल्छ तर, विद्यार्थीहरूको सङ्ख्या कसरी बढाउने भन्ने बारेमा भने कुनै चर्चा नै गरिँदैन। प्रायःजस्ता सरकारी प्राथमिक पाठशालाहरूको भवन जीर्ण अवस्थामा पुगिसकेको छ। पाठशालाको भवन र कक्षा हेर्ने हो भने पाठशालाजस्तो पटक्कै लाग्दैन। पाठशालाको भवन पाठशालाजस्तै निर्माण गरिनुपर्छ भन्ने आवाज सुनिँदैन। अब यस बारेमा जीटीएले सक्रिय भएर सषक्त कार्य झट्टै गर्ने समय आएको छ। जीटीए, सरकारलाई यस विषयमा अवगत गराउने दायित्व कसको हो?
तीनधारेलाई तीनधारिया-तिनधरिया, सुकेपोखरीलाई सुकियापोखरी, पोख्रेबोङलाई पोख्रियाबोङ, दुधेलाई दुधिया, धोत्रेलाई धोतरिया, धजेलाई धजिया, करवीरलाई करबिया लेखिन्छ
नेपाली युनिकोडले ल्याएको नयाँ क्रान्ति
सन् २००२ देखि काठमाड़ौको मदन पुरस्कार पुस्तकालयद्वारा नेपाली युनिकोड फण्ट विकास भयो। जसको सक्रियताले आज हामी ईमेल नेपालीमा लेख्न सक्छौँ, फेसबुकमा नेपालीमा लेख्न सक्छौँ, मोबाइल फोनहरूमा नेपालीमै टाइप गर्नसक्छौँ। नेपाली युनिकोड विकास हुनु समग्र नेपाली भाषीहरूका निम्ति ठूलो उपलब्धी हो। हिजोआज नेपालीमा टाइप गर्नका लागि थुप्रै एप्सहरू निस्किसकेको छ। यसैको माध्यमबाट सबैले नेपालीमा टाइप गर्न सक्छन्।
भाषामा अराजकता
भाषा एउटा हामी सुन्छौं अनि अर्को देख्छौं। बोलेको भाषा सुन्छौं अनि लेखेको भाषा देख्छौं। एक दशक बढी समयदेखि नेपाली भाषाको हिज्जेलाई लिएर एक किसिमको द्वन्द्व नै चलिरहेको छ। नेपाली हिज्जेमा व्यापक परिवर्तन देखा परेको छ। यसमा धेरैले आआफ्नै ग्रुपअनुसार हिज्जे प्रयोग गर्न थालेका छन्। जसले गर्दा एक किसिमको अन्योलता देखापरिरहेको छ। हिज्जे परिवर्तन बारेमा अहिलेसम्म कहिँ कतैबाट यस्तै प्रयोग गर्नुपर्छ भन्ने कुनै आधिकारिक सूचना यतातिर जारी गरिएको थाहा छैन। नेपालमा ‘ड़’ ‘ढ़’को मुनि लाग्ने थोप्लाको प्रयोग पूर्ण रूपले बन्द भइसकेको छ। यसबाहेक कतिवटा शब्दहरूमा ‘श’को ठाउँमा ‘स’ लेखिन्छ, जस्तै शहीद-सहिद, शुरू-सुरू। यतातिर पनि कतिले यस्तै प्रयोग गर्छन्, कतिले पुरानै हिज्जे प्रयोग गर्छन्। यसको असर यता समाचार पत्र-पत्रिकाहरूमा देखिन्छ। एउटै समाचार पत्रमा एउटै शब्दको हिज्जे बेग्ला बेग्लै देखिन्छ। यतातिर भने कतिले पुरानै हिज्जे प्रयोग गर्छन् कतिले नयाँ प्रयोग गर्छन्। झनै हिजोआज जसलाई जस्तो मन पर्यो उस्तै प्रयोग गर्छन्, आआफ्नै हिसाबले चलाउने गर्छन्। जसले गर्दा निक्कै अन्योल सृजना भइरहेको छ। यसमा एक प्रकारको अराजकता नै देखिएको छ।
म एउटा समाचार पत्रमा प्रबन्धन सम्पादक हुँदा त्यहाँ हप्तैपछि सूचना पट्मा एक एकवटा षब्दको हिज्जे परिवर्तन गर्नुपर्ने निर्देश प्रधान सम्पादकले सूचना टाँसेका हुन्थे, उनलाई पनि कहिँकतैबाट निर्देश जारी गरिएको हुन्थ्यो। यस बारेमा सोद्धा कुनै स्पष्ट जानकारी पाउँदिन थिएँ। यस्तो हुँदा भाषामा पनि कहिँकतैबाट भूमिगत रूपमा फरमान जारी गरिँदोरहेछ भन्ने लाग्थ्यो। कारण आधिकारिक रूपमा कुनै संस्थानको निर्देशन हुँदैन थियो।
नेपाली पत्रकारिताभित्र भाषा
यताका नेपाली पत्रकारिताको भाषा बारे प्रायःजस्ता पाठक साथै साहित्यकार साथीहरूले भन्ने पनि गर्छन् अनि घोंच्ने पनि गर्छन्। उनीहरूले नेपाली पत्रकारिताको भाषा बारेमा गरेका गुनासो सही हो। पत्रकारिताको समाचार, विश्लेषण, फिचर लेखनसित साहित्यको भाषाशैलीसित मेल खाँदैन। पत्रकारिता भनेको हतारिएको साहित्य हो। पत्रकारितामा मूल पात्रको मृत्यु शुरूमै हुन्छ भने साहित्यमा प्रायः अन्ततिर मूल पात्रको मृत्यु हुन्छ।
समाचारपत्र-पत्रिकाहरूमा बाहिर समाचार संकलन गर्ने संवाददाताहरू हुन्छन्। कार्यलयभित्र सम्पादक, समाचार सम्पादक, मुख्य समाचार सम्पादक, भाषा शुद्ध बनाउन र एकरूपता ल्याउनका निम्ति कपि राइटर, प्रुफ रिडरहरू हुन्छन्। तर, यताका नेपाली समाचार पत्रमा भने मानव संसाधनमा राम्रो लगानी गरिँदैन। मानव संसाधनमा राम्रो लगानी गर्न नसक्नुको कारणले गर्दा नै यसको सोझो असर पत्रकारिताको स्तरमा पर्दछ। यताका पत्रकारितामा पारिश्रमिक बढी दिनुपर्छ भनेर नै काम लगाउन पनि हिचकिचाउँछन्। यो भारतीय नेपाली पत्रिकाको एउटा अँघ्यारो पाटा हो साथै दुर्भाग्य हो। कोही बेला उदेक हुन्छ संवाददाताले सबै ठिकै लेखेर पठाएका हुँदाहुँदै सम्पादन गरेर सुधारिँदा बेला बेलामा उल्टा संवाददाता नै अप्ठयारो स्थितिमा पर्छन्। एकपल्ट मसित भएकै घटना हो…मैले शीर्षक लेखेको थिएँ ‘प्रतिकूल मौसमले गर्दा गृह मन्त्री आएनन्’ भोलिपल्ट समाचार हेरेँ डेस्कबाट शीर्षक सुधारिदिएछन्, शीर्षक यस्तो थियो ‘अनुकूल मौसमले गर्दा गृह मन्त्री आएनन्’। कहिले ‘हात्तीले हत्या गर्यो’ जस्ता शीर्षक पनि देखिन्छ। समाचार लेखनमा छुट्टै शैली छ। समाचार पाएर दिनु मात्र होइन, समाचार लेखनमा पाठकलाई आकर्शित पार्नसक्ने शैली प्रयोग हुनु पत्रकारिताको विशेषता हो।
भत्किँदै गएका नेपाली नामहरू
विशेषगरि नेपाली नाम भएका ठाउँहरूका नाम दिन प्रतिदिन भत्किँदै गइरहेका छन्। जुन यस्ता छन्ः तीनधारेलाई तीनधारिया-तिनधरिया, सुकेपोखरीलाई सुकियापोखरी, पोख्रेबोङलाई पोख्रियाबोङ, दुधेलाई दुधिया, धोत्रेलाई धोतरिया, धजेलाई धजिया, करवीरलाई करबिया लेखिन्छ। यसरी नामहरू लेखेको पढ्दा, बोलेको सुन्दा के दार्जीलिङ पहाड़ जस्तो लाग्छ? खरसाङकै हिज्जे हो भने साइनबोर्डतिर कतै कुर्सियाङ, कतै कर्सियाङ-कर्सियोंग लेखिएको देखिन्छ। गढी लेख्ने ठाउँमा गुडी लेखिन्छ। सिक्किमै पनि सोमबारेलाई सोबारिया, मङ्गलबारेलाई मङ्गलबारिया अझ लेप्चा भाषाको नाम रोङ्लीलाई रङ्गेली लेखिन्छ। रोङ्लीको अर्थ यस्तो हुन्छ-‘रोङ’ भनेको लेप्चा अनि ‘ली’ भनेको घर अर्थात ‘लेप्चा घर’। समाचार पत्रको काम भूललाई सुर्धानु हो तर, सुधार्ने काम गरिँदैन। भूल कुरालाई बढाउँदै लैजानु महाभूल हो। हिजोआज यस्तै भइरहेको छ, यस्तै चलिरहेको छ।
नेपाली भाषा विकासमा जीटीएको भूमिका
नेपाली भाषा विकासमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)को सूचना अनि संस्कृति विभागले धेरै नै महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ। जीटीए क्षेत्रमा नेपाली भाषा प्रयोग गर्ने घोषणा जीटीएद्वारा गरिएको थियो। नेपाली भाषा प्रयोग अनि प्रचार गर्ने कार्यमा जीटीएको भूमिकालाई किनारा लगाउनु हुँदैन। दागोपापलाई पनि बलियो घड़ेरी बनाउन सकेनौँ र जीटीएलाई पनि बलियो घड़ेरी बनाउन सकेका छैनौँ। दागोपाप पनि पहाड़का जनताको अधिकार थियो अनि जीटीए पनि जनताको अधिकार हो। नकारात्मक कुरा गरेर मात्र हुँदैन सकारात्मक रूपमा दिने कार्य पहाड़वासीमाथि निर्भर रहेको छ।
अब जीटीएबाट खुबै राम्रो पहल शुरू भएको छ। जीटीएको पहलमा यसको अधीनमा नेपाली अकादमी (नेपाली भाषा अनुसन्धान एवं विकास केन्द्र) स्थापित भएको छ। यसपाली २० अगस्तमा भाषा दिवसको भव्य कार्यक्रम नेपाली अकादमीद्वारा जीटीए र दार्जीलिङ नगरपालिकाको सहयोगितामा दार्जीलिङमा सम्पन्न भयो। यस कार्यक्रममा दुई विपक्षी नेता भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो)का अध्यक्ष एवं जीटीएका मुख्य कार्यपाल अनित थापा र हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्डको संयुक्त सहभागिता रहेको हुँदा पहाडको विकासमा नयाँ बिहानीको महसुस गर्न सकिन्छ। यी दुई नेताले संयुक्त रूपमा प्रयास गरे जीटीए शक्तिशाली व्यवस्था बन्न सक्छ।
जीटीए अधिनस्थ नेपाली अकादमीको आयोजनामा यस किसिमको भाषा साहित्य बारेमा कार्यक्रमहरू विभिन्न स्तरमा आयोजना भइरहनु आवश्यक छ। नेपाली अकादमीद्वारा नेपाली भाषामा हाम्रा क्षेत्रका साहित्य, संस्कृति, परम्परा, सामाजिक जनजीवन, सङ्गीत, कला, ऐतिहासिक तथ्यहरूसहितका पत्रिका प्रकाषित हुनु समयको अर्को आवश्यकता हो। यसो गर्दा पहाड़का थुप्रै पाटाहरूका दह्रो दस्तावेज बनिनेछ। पहिला दागोपापको पालामा पनि स्व. सुवास घिसिङको अवधारणामा सूचना अनि संस्कृति विभागबाट सत्यकथा प्रकाशित गरिएको थियो। गोर्खाल्याण्ड आन्दोलनका सत्य घटनाहरू र पहाड़का ऐतिहासिक तथ्यहरू सत्यकथामा प्रकाशन गर्नु स्व. सुवास घिसिङको अवधारणा थियो। तर, उनको अवधारणा नबुझेर सत्यकथा भन्नेसाथ भूतप्रेतको कथाहरू छापिएको थियो। पछिबाट स्व. सुवास घिसिङले नै सच्याउने काम गराएका थिए। अब पुराना भूलहरूको समीक्षा साथै आत्मालोचना गरेर नयाँ अवधारणामा सकारात्मक विचार लिएर अघि बढ्नसके समग्र विकासका साथमा भाषा साहित्य, संस्कृति संरक्षित रहन्छ। परिचय कसैलाई मागेर पाउने होइन, कर्मले मात्र आफ्नो पहिचान प्राप्त गर्न सकिन्छ।
*** *** ***










