इलाम: लगातार परेको भारी वर्षाका कारण इलामका विभिन्न स्थानमा शनिबार आएको पहिरोमा हालसम्म ३७ जनाको मृत्यु भएको छ।
इलाम नगरपालिका-६ घोष गाउँमा प्रकाश तामाङको घरमा गएको पहिरोमा समिर देउजाली (२३), प्रविण तामाङ (२३), बिराज पाख्रिन तामाङ (२३), झापा अर्जुनधारा नगरपालिका-६ का अर्जुन दनुवारको ३ वर्षीय छोरा आवास दनुवार, ३२ वर्षीया अनु तामाङ र ८ वर्षीया प्रिन्सिखा मगरको मृत्यु भएको छ।
सन्दकपुर गाउँपालिका-१ छाँगेमा छबि धन राईको घरमा गएको पहिरोमा भिम बहादुर राई (४३), हरिमाया राई (६६), देवी राई (४७), शेखर राई (५४), सारादा सेडाई (७४) र तारा देवी राई (४८)को मृत्यु भएको छ।
माईजोगमाई गाउँपालिका-३ प्याङमा बर्मलाल सोङमी (८२), बुद्धमाया सोङमी (७०), धनबल सोङमी (४६), सरला सोङमी (४२) र प्रकृती सोङमी (१४) पहिरोमा पुरिएका छन्।
सूर्योदय नगरपालिका-१ मानेभञ्याङमा राजु क्षेत्रीको घरमा गएको पहिरोमा मन माया क्षेत्री (६५), रस्मिका क्षेत्री (१०), दिप बस्नेत (४५), भवानी बस्नेत (४४) र दिव्या बस्नेत (१२)को मृत्यु भएको छ।
देउमाई नगरपालिका-५ ढुसेनीमा दिपक लिम्बु (३०), ऋषिका लिम्बु (२७), दिपिस्का लिम्बु (१०), भतिजो सौजन लिम्बु (९) र सौगात लिम्बु (११) मलबेमा पुरिएका छन्। सोही क्षेत्रमा मन कुमार लिम्बुको घरमा रोशन लिम्बु (२२) र बेबिसा राई (२२)को मृत्यु भएको छ।
माङसेबुङ गाउँपालिका-१ पार्टी गाउँमा मदन लिम्बुको घरमा गएको पहिरोमा कृष्ण माया लिम्बु (५७), माया लिम्बु (५०) र नेहा राई (१७)को मृत्यु भएको छ।
फाकफोकथुम गाउँपालिका-३ रातमाटेमा सुरेश लिम्बु (२८) पनि पहिरोमा पुरिएका छन्। माईजोगमाई गाउँपालिका-६ ओडारेमा भक्त बहादुर थेवेको घरमा गएको पहिरोमा किरण थेवे (२८), मनमाया थेवे (१८) र मुनुसा थेवेको (३) मृत्यु भएको छ।
प्रारम्भिक उद्धारमा केही व्यक्तिहरूलाई सुरक्षित निकालिएको छ भने स्थानीय प्रहरी टोली प्रभावित क्षेत्रहरूमा तत्काल उद्धार कार्य र आवश्यक अनुसन्धान गरिरहेको छ।