खरसाङ: रातभरि परेको पानीले गर्दा खरसाङको रोहिणी रोड (सुवास घिसिङ मार्ग) मा पैह्रो गएपछि रोड बन्द भएको छ। यस स्थानमा केही दिन अघिदेखि सडक चर्केको अवस्थामा रहेको थियो भने आज पैह्रोले रोहिणी रोडको आधा भाग नै गएको छ। खरसाङको गौरी शंकर चियाबारीको खेल मैदानदेखि केही मुनिपट्टि रहेको रोहिणी रोड केही दिन अघिदेखि नै चर्किएको अवस्थामा रहेको थियो भने रातभरि परेको पानीले रोडको आधा भाग नै लगेको छ। यो पैह्रोले गर्दा दार्जिलिङ र खरसाङ क्षेत्रबाट सिलगढी जाने रोड नै बन्द भएको छ। पैह्रो गएपछि रोहिणी रोडमा केवल दुई चक्के वाहनहरु जस्तै बाइक स्कुटीहरु मात्रै कुद्न सक्ने देखिएको छ भने चार चक्के वाहनहरु कुदाउन नसक्ने अवस्थामा देखिएको छ। रोहिणी रोडमा पैह्रो गएपछि अब गाडीहरु राष्ट्रिय राजमार्ग ११० र पंखाबारी रोड भएर कुदाउन सकिने देखिएको छ।

रोहिणी रोडको पैह्रोले गर्दा गाडीहरु पंखाबारी रोड अनि राष्ट्रिय राजमार्ग ११० (पहिला राष्ट्रिय राजमार्ग ५५) महानदी, घैयाबारी र तीनधारे भएर चल्न सक्ने खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीले बताएका छन्। उनले रोहिणी रोडमा पैह्रो गएपछि ट्राफिक पुलिसको तर्फबाट पैह्रोको दुवैपट्टि ट्राफिक बेरीकेट लगाइएको र पैह्रोमा दुईजना ट्राफिक पुलिस राखिएको बताएका छन्। उनले रोहिणी रोडमा पैह्रो गएपछि खरसाङको हनुमान डाँडा भएर राष्ट्रिय राजमार्ग ११० भएर गाडीहरु कुद्न सक्ने पनि बताएका छन्।