शुभमन गिल नयाँ वनडे कप्तान नियुक्त, रोहित र कोहलीलाई टीममा स्थान

IMG-20251004-WA0076

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले अष्ट्रेलिया यात्राको निम्ति शनिवार वनडे र टी२० टीमको घोषणा गऱ्यो। शुभमन गिललाई रोहित शर्माको स्थानमा वनडे टीमको कप्तान नियुक्त गरिएको छ। यसरी श्रेयस अय्यर वनडे टीमको उपकप्तान हुनेछन्। अजीत अगरकरको अगुवाईमा रहने चयन समितिले शनिवार टीमको कप्तानीलाई लिएर ठूलो निर्णय लियो। रोहित अब अष्ट्रेलिया यात्रामा केवल पूर्णकालिक ब्याटरको रूपमा खेल्नेछन्। स्टार ब्याटर विराट कोहलीलाई पनि यस यात्राको निम्ति टीममा चयन गरिएको छ। भारत र अष्ट्रेलियाबीच वनडे सीरीज १९ अक्टोबरदेखि शुरु हुनेछ। सीरीजको अन्तिम २ वटा म्याच २३ र २५ अक्टोबरमा खेलिनेछ। त्यसपछछि २८ अक्टोबरदेखि ८ नोभेम्बरसम्म ५ वटा म्याचको टी२० इण्टरनेशनल सीरीज खेलिनेछ। रोहित र कोहलीले भारतको निम्ति आफ्नो अन्तिम म्याच च्याम्पियन्स ट्रफीको फाइनलमा खेलेका थिए। यी दुवै क्रिकेटरले टेस्ट र टी२०आई प्रारूपबाट सन्न्यास लिइसकेका छन् अनि अहिले केवल वनडे इण्टरनेशनल प्रारूपमा खेल्छन्। रोहितले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि गिललाई टेस्ट कप्तान नियुक्त गरिएको थियो। रोहित (३८ वर्षीय) दिसम्बर २०२१-देखि भारतको वनडे टीमका पूर्णकालिक कप्तान रहेका थिए। वनडे कप्तानको रूपमा रोहितको रेकर्ड असाधारण रह्यो। उनको कप्तानीमा भारतले ५६ वटा वनडे म्याच खेलेर ४२ वटा जितेको थियो। यसबाहेक टीमले १२ वटा म्याच गुमाएको थियो। एउटा म्याच टाई र अन्य एउटा म्याच अनिर्णीत रहेको थियो। रोहितको कप्तानीमा हालै भारतले न्यूजील्याण्डलाई पराजित गरी आईसीसी च्याम्पियन्स ट्रफीको खिताब जितेको थियो। यसरी २०२३ वनडे वर्ल्ड कपमा टीमले लगातार १० वटा म्याच जितेर फाइनलमा स्थान बनाएको थियो। फाइनलमा चाहिँ भारतले अष्ट्रेलियाविरुद्ध हारको सामना गर्नु परेको थियो।
अष्ट्रेलिया यात्राको निम्ति गिललाई कप्तानी सुम्पिने चयनकर्ताहरूका फसेलाले रोहितका प्रशंसकहरूलाई ठूलो झट्का लागेको छ। मुख्य चयनकर्ता अगरकरले टीमको घोषणा गरेपछि गिललाई कप्तान बनाइएको कारण पनि बताए। उनले भने, गिललाई केवल वनडे वर्ल्ड कप २०२७-लाई ध्यानमा राखेर कप्तान बनाइएको होइन। यो लामो अवधिको निम्ति हो। अगरकरको बयानले भारतीय टीमले वर्ल्ड कपको निम्ति रणनीति बनाउनमा काम गर्न शुरु गरेको अनि टीम गिलको कप्तानीमा वैश्विक टुर्नामेण्टमा ओर्लिने स्पष्ट भएको छ। यसको साथमा अगरकरले अष्ट्रेलियाविरुद्ध वनडे सीरीज रोहित र कोहलीको निम्ति अन्तिम सीरीज हुने दावीहरूलाई पनि खारेज गरे। अष्ट्रेलियाविरुद्ध वनडे सीरीजको निम्ति हार्दिक पाण्ड्या, रिषभ पन्त र जसप्रीत बुमराहलाई टीममा स्थान प्राप्त भएन। एशिया कपको अवधि चोटग्रस्त हुने पाण्ड्यालाई वनडे र टी२० दुवै टीममा चयन गरिएन। यसरी वेष्ट इण्डिजविरुद्ध २ वटा टेस्ट म्याचको सीरीजमा खेलिरहेका बुमराहलाई आराम दिइएको छ। उनलाई टी२०आई टीममा चाहिँ राखिएको छ। यसरी ईंग्ल्याण्ड यात्रामा चोटको शिकार हुने पन्तलाई पनि आराम दिइएको छ।
अष्ट्रेलिया यात्राको निम्ति भारतको वनडे टीम यसप्रकार छः
शुभमन गिल (कप्तान), श्रेयस अय्यर (उपकप्तान), रोहित शर्मा, विराट कोहली, अक्षर पटेल, केएल राहुल (विकेटकीपर), नितीश कुमार रेड्डी, वाशिंगटन सुन्दर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद सिराज, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, ध्रुव जुरेल (विकेटकीपर), यशस्वी जयसवाल।
अष्ट्रेलिया यात्राको निम्ति भारतको टी२० टीम यसप्रकार छः
सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, तिलक वर्मा, नितीश कुमार रेड्डी, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा (विकेटकीपर), वरुण चक्रवर्ती, जसप्रीत बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, हर्षित राणा, सञ्जु सेमसन (विकेटकीपर), रिंकू सिंह, वाशिंगटन सुन्दर।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement