न्यूयोर्क: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका हाल लागुऔषध कार्टेलहरूसँग ‘सशस्त्र द्वन्द्व’ मा संलग्न रहेको औपचारिक घोषणा गर्नुभएको छ। उक्त जानकारी उहाँको प्रशासनले भेनेजुएलाबाट प्रस्थान गरेका डुङ्गाहरूमा हालै भएको घातक आक्रमणपछि कंग्रेसलाई पठाएको आधिकारिक सूचनामा उल्लेख गरिएको छ।
एएफपीले प्राप्त गरेको सो पत्रमा अन्तर्राष्ट्रिय पानीमा भएका कम्तीमा तीन वटा आक्रमणलाई कानूनी औचित्य दिनका लागि यो कदम चालिएको बताइएको छ। ती आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मदुरोसँग बढ्दो तनावका बीच अमेरिकी प्रशासनले लागुऔषध तस्करीविरुद्ध कठोर कदम चाल्दै क्यारिबियन सागर क्षेत्रमा ठूलो सङ्ख्यामा सैन्य जहाजहरू तैनाथ गरेको छ।
पेन्टागनले कंग्रेसलाई पठाएको सूचनामा भनिएको छ, “राष्ट्रपतिले यी कार्टेलहरूलाई गैर–राज्य सशस्त्र समूहका रूपमा परिभाषित गर्नुभएको छ, तिनीहरूलाई आतङ्कवादी सङ्गठनको दर्जामा राखिएको छ, र उनीहरूको गतिविधिहरू संयुक्त राज्य अमेरिकाविरुद्धको प्रत्यक्ष सशस्त्र आक्रमण भएको ठहर गरिएको छ।” साथै, सो सूचनामा सन्दिग्ध तस्करहरूलाई ‘गैरकानूनी लडाकू’ का रूपमा वर्णन गरिएको छ।
हालै अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै लागुऔषधले भरिएका डुङ्गाहरूलाई लक्ष्य बनाएको आक्रमणबारे कानूनी विज्ञहरूले भने वासिङ्टनको कदम वैधानिकताको दृष्टिले विवादास्पद भएको टिप्पणी गरेका छन्।
यसैबीच ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सेप्टेम्बर १५ मा भएको आक्रमणपछि कंग्रेसलाई सो नोट पठाइएको जानकारी दिएका छन्। उनका अनुसार अमेरिकी सेना कुनै पनि आक्रमणमा संलग्न भएपछि त्यसबारे कंग्रेसलाई सूचित गर्नु कानूनी रूपमा अनिवार्य हुन्छ। अधिकारीले थप स्पष्ट पार्दै भने, “यसले कुनै नयाँ सूचना दिएको होइन, बरु कानूनी दायित्वअनुसार गरिएको कार्य मात्र हो।”
तर, यी घटनाले अमेरिकाको हवाई र नौसैनिक गतिविधिलाई लिएर क्षेत्रीय तनावलाई अझ बढाएको छ। भेनेजुएलाले बिहीबार आफ्नो तटबाट करिब ७५ किलोमिटर दूरीमा पाँच वटा अमेरिकी लडाकू विमान ‘अवैध रूपमा घुसपैठ गरेको’ दाबी गरेको छ।