नयाँ दिल्ली: भारतकी स्टार भारोत्तोलक (वेट लिफ्टर) मीराबाई चानूले एकपल्ट फेरि विश्व मञ्चमा सफलताको झण्डा गाड़िन्। उनले नर्वेको फोर्डेमा जारी भारोत्तोलन विश्व च्याम्पियनशीपमा महिलाहरूकी ४८ किग्रा वर्गमा रजत पदक जितिन्। यस प्ररतिष्ठित टुर्नामेण्टमा यो मीराबाईको तेस्रो पदक हो, जो गत केही सालदेखि चोटसँग जुझिरहेकी छन्। यसैकारण गत केही टुर्नामेण्टहरूमा उनले आशानुरुप प्रदर्शन गर्न सकेकी थिइनन तर शुक्रवार विश्व भारोत्तोलन च्याम्पियनशीपमा चाहिँ उनले उत्कृष्ट प्रदर्शन गरिन्। यस रजत पदकलाई लस एञ्जिलिस ओलम्पिक २०२८-को तयारीहरूको दिशामा एउटा मजबूत कदम मानिएको छ। मीराबाई चानूले यसअघि २०१७-को विश्व च्याम्पियनशीपमा स्वर्ण अनि २०२२-मा रजत पदक जितेकी थिइन्। यसपाली उनले ४८ किग्रा भार वर्गमा जम्मा १९९ किग्रा (८४ किग्रा स्न्याच अनि ११५ किग्रा क्लीन एण्ड जर्क) ओजन उठाएर पोडियममा स्थान हासिल गरिन्। चानूले यसअघि ४९ किग्रा वर्गमा प्रतिस्पर्धा गरिरहेकी थिइन् तर रणनीतिक बद्लाउले गर्दा उनले ४८ किग्रा वर्गमा हिस्सा लिएकी छन्।
स्न्याचमा चानूको प्रदर्शन आशा अनुरुप रहेन। उनले ८७ किग्राको ओजन २ पल्ट उठाउने प्रयास गरिन् तर असफल भइन्। तेस्रो प्रयासमा उनले ८४ किग्रा ओपन सफलतापूर्वक उठाइन्। त्यसपछि क्लीन एण्ड जर्कमा चाहिँ उनले असाधारण पुनरागमन गरिन् अनि तीनैवटा प्रयास सफलतापूर्वक सम्पन्न गरिन्। चानूले ३ वटा प्रयासमा १०९ किग्रा, ११२ किग्रा र ११५ किग्रा ओजन उठाएर सबैलाई प्रभावित गरिन्। उल्लेखनीय छ, मीराबाईले यसअघि टोक्यो ओलम्पिक (२०२१)-मा पनि क्लीन एण्ड जर्कमा ११५ किग्रा ओजन उठाएकी थिइन्, जहाँ उनले देशलाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। यसपाली पनि उनले त्यही ऊर्जा र आत्मविश्वासको साथ त्यही ओजन सजिलै उठाइन्। भारतीय टीमका मुख्य प्रशिक्षक विजय शर्माले अगावै यस विश्व च्याम्पियनशीपमा मीराबाईको लक्ष्य २०० किग्राको आँकड़ा पार गर्ने रहेको दावी गरेका थिए। मीराबाईले २०० किग्रा ओजन उठाउन नसके पनि १९९ किग्राको ओजन उठाएर सबैलाई प्रभावित गरिन्। प्रतियोगितामा उत्तर कोरियाकी रि सोंग गुमले स्वर्ण पदक जितिन्। उनले जम्मा २१३ किग्रा (९१ किग्रा स्न्याच र १२२ किग्रा क्लीन एण्ड जर्क) ओजन उठाइन्। यसरी काँस्य पदक थाइल्याण्डकी थनयाथोन सुक्चारोले जितिन्। उनले जम्मा १९८ किग्रा (८८ अनि ११० किग्रा) ओजन उठाइन्।