कोलकाता: दुर्गा पूजाको उत्सवमय माहोलबीच बंगालमा वर्षाको आशंकाले प्रशासनलाई सतर्क बनाएको छ। मुख्यमन्त्री ममता बनर्जी नवान्नमा उपस्थित नभए पनि आफ्नै निवासबाट निरन्तर अवस्थामाथि नजर राखिरहेकी छन्। उनी दैनिक रूपमा मुख्य सचिव डा. मनोज पन्त तथा वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा छन्।
मौसम विभागका अनुसार नवमीमा निम्न चाप क्षेत्र बन्ने सम्भावना छ, जसका कारण दशमी र एकादशीमा मुसलधारे वर्षा हुन सक्छ। माछा मार्न जानेहरुलाई १ अक्टोबरसम्म समुद्रमा नजान चेतावनी दिइएको छ।
मुख्यमन्त्रीले विपद् व्यवस्थापन र जिल्ला प्रशासनलाई पूर्ण सतर्क रहन निर्देशन दिएकी छन्। २६ सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म कन्ट्रोल रुम सक्रिय रहनेछ। वरिष्ठ अधिकारीहरू २४ घण्टा निगरानीमा खटिनेछन्।
गत मंगलबारको भारी वर्षाले कोलकाताका केही क्षेत्र जलमग्न भए पनि प्रशासनले छिट्टै नियन्त्रणमा ल्याएको थियो। मुख्यमन्त्रीले आमनागरिकलाई आश्वस्त गराउँदै भनिन्— पूजाको बेला कसैलाई असुविधा नहोस् भन्ने उद्देश्यले तयारी पुरा छ।











