चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५ विकेटले पराजित गरी भारत नवौं पल्ट एशिया कप च्याम्पियन

IMG-20250929-WA0004

दुबई: भारतले नवौं पल्ट एशिया कप क्रिकेट टुर्नामेण्टको खिताब जित्यो। आइतवार दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको रोमाञ्चक फाइनलमा भारतले चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५ विकेटले पराजित गऱ्यो। म्याचमा पाकिस्तानले दिएको १४७ रनको लक्ष्यलाई पीछा गर्दै भारतले १९.४ ओभरमा ५ विकेटमा १५० रन बनाएर म्याच जित्यो। एशिया कप २०२५-मा भारतको यो पाकिस्तानविरुद्ध लगातार तेस्रो जीत हो। भारतलाई च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै तिलक वर्माले अविजित ६९ रन बनाए। उनले ५३ बल खेलेर ४ वटा छक्का र ३ वटा चौका लगाए। यसबाहेक सञ्जु सेमसनले २४ र शिवम दुबेले ३३ रनको योगदान दिए। अभिषेक शर्मा (५)-को साथमा कप्तान सूर्यकुमार यादव (०१) र शुभमन गिल (१२ रन)-लाई २० रनमै गुमाएपछि टीमलाई तिलकले सम्हाले। उनले सेमसनसँग चौथो विकेटको निम्ति ५७ र दुबेसँग पाँचौं विकेटको निम्ति ६० रनको पार्टनरशीप गरेर भारतको जीत सुनिश्चित गरे। दुबेले २२ बल खेलेर २ वटा छक्का र २ वटा चौका लगाए। रिंकू सिंहले २०औं ओभरको चौथो बलमा चौका लगाएर भारतलाई जीत दिलाए। पाकिस्तानका बलरहरूमा फहीम अशरफले सर्वाधिक ३ विकेट हासिल गरे।
यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै पाकिस्तान १९.१ ओभरमा १४६ रन बनाएर अलआउट भयो। पाकिस्तानले फेरि एकपल्ट असल शुरुवातको फाइदा उठाउन सकेन। भारतीय स्पिनर कुलदीप यादवले फेरि उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानी मध्य क्रमलाई ध्वस्त पारे। कुलदीपले ४ ओभरमा ३० रन खर्च गरी ४ विकेट लिए। पाकिस्तानलाई आइतवार साहिबजादा फरहान र फखर जमानको जोड़ीले असाधारण शुरुवात दिलायो। यी दुईजनाले पहिलो विकेटको निम्ति ९.४ ओभरमा ८४ रनको पार्टनरशीप गरे। स्पिनर वरुण चक्रवर्तीले फरहानलाई आउट गरी यस पार्टनरशीपलाई तोड्नको साथै पाकिस्तानको पतन शुरु भयो। फरहानले ३८ बल खेलेर ५ वटा चौका र ३ वटा छक्काको साथ ५७ रन बनाए। वरुणले पछिबाट फखर जमानलाई पनि आउट गरे। फखरले ३५ बलको सामना गरी २ वटा चौका र २ वटा छक्काको साथ ४६ रन बनाए। यी दुईजना बाहेक एकमात्र सईम अयूबले दशभन्दा अधिकको स्कोर बनाए। कुलदीपले सईमलाई आफ्नो पहिलो शिकार बनाए, जसले १४ रनको योगदान दिए। त्यसपछि पाकिस्तानका अन्य सबै आउने र जाने मात्र भए। भारतीय बलरहरूमा कुलदीप बाहेक जसप्रीत बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले २-२ विकेट हासिल गरे। भारतका अभिषेक शर्माले प्लेयर अव् द टुर्नामेण्ट र तिलक वर्माले प्लेयर अव् द म्याच-को पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement