मुम्बई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आज पूर्ण रणजी ट्रफी क्रिकेटर मिथुन मन्हासलाई आफ्नो नयाँ अध्यक्ष नियुक्त गऱ्यो। दिल्लीका पूर्व कप्तान मन्हास बीसीसीआईको ३७औं अध्यक्ष बनेका छन्। उनले अनुभवी क्रिकेटर रोजर बिन्नीको स्थान लिनेछन्, जसले हालै यस पदबाट राजीनामा दिएका थिए। बीसीसीआईको ९४औं वार्षिक आम बैठकमा मन्हासलाई सर्वसम्मतिद्वारा अध्यक्ष चयन गरियो। गत केही हप्तादेखि क्रिकेट र प्रशासनिक स्तरमा उनको नाम चर्चामा रहेको थियो। बीसीसीआईले अहिले उनको नियुक्तिको पुष्टि गरेपछि अड़कलबाजीमा पनि विराम लागेको छ। दिल्ली र जम्मू-कश्मीरका पूर्व क्रिकेटर मन्हासलाई उनको लामो घरेलु करियर र नेतृत्वकारी भूमिकाहरूका निम्ति चिनिन्छ। उनको नियुक्तिलाई भारतीय क्रिकेट प्रशासनमा पीढ़ीगत बद्लाउको रूपमा हेरिएको छ, जसमा युवा र हालमा सक्रिय क्रिकेटरहरूलाई निर्णय लिने भूमिकाहरूमा ल्याइनेछ। मिथुन मन्हासले आफ्नो प्रथम श्रेणीको करियरमा १५७ वटा म्याच खेलेर ४५.८२-को औसतले ९७१४ रन बनाएका थिए। यसमा २७ वटा शतक र ४९ वटा अर्द्धशतक सामेल छ। उनले १३० वटा लिस्ट ए म्याचमा ४५.८४-को औसतले ५ वटा शतक र २६ वटा अर्द्धशतकको साथ ४१२६ रन बनाए। उनले ९१ वटा टी२० म्याचमा ११७० रन पनि बनाएका थिए। यसरी मन्हासले प्रथम श्रेणीमा ४०, लिस्ट ए-मा २५ र टी२०-मा ५ विकेट लिएका थिए। उनले रणजी ट्रफीमा दिल्लीको कप्तानी पनि गरेका थिए। विराट कोहलीले आफ्नो करियरको शुरुवातमा उनकै कप्तानीमा खेलेका थिए। क्रिकेटबाट सन्न्यास लिएपछि मन्हासले कोचिंगमा पनि काम गरेका थिए। उनलाई २०१७-मा पञ्जाब किंग्सको सहायक प्रशिक्षक बनाइएको थियो। त्यसपछि उनी बंग्लादेश अण्डर-१९ टीमको ब्याटिंग सल्लाहकार बनेका थिए। त्यहाँ २ साल काम गरेपछि उनी भारत फर्किएर रोयल च्यालेञ्जर्स बेंगलुरुमा सामेल भएका थिए। बीसीसीआई अध्यक्ष चयन हुन अघि उनी गुजरात टाइटन्सका सहायक प्रशिक्षक रहे। अहिले उनी समक्ष भारतीय क्रिकेटलाई अझ उँचाईमा पुऱ्याउने जिम्मेवारी रहेको छ।