नन्द किराती देवान
गुवाहाटी: असमका पाँच प्रमुख गोर्खा संगठनहरूले प्रसिद्ध गायक, अभिनेता, सङ्गीतकार तथा चलचित्र निर्माता लोहितकण्ठ जुबिन गर्गको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै यस वर्ष दुर्गा पूजा र दशैं सम्मेलनका सबै मनोरञ्जनात्मक कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेका छन्।
असम गोर्खा सम्मेलन, अखिल असम गोर्खा विद्यार्थी सङ्घ, भारतीय गोर्खा परिसंघ, गोर्खा स्वायत्त परिषद् दाबी समिति र असम गोर्खा कलाकार सङ्घले संयुक्त विज्ञप्ति जारी गर्दै गर्गलाई “सांस्कृतिक प्रतीक”का रूपमा स्मरण गरेका छन्।
संगठनहरूको भनाइमा गर्गले असमिया संगीतलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याए, समाजमा शान्ति र एकताको सन्देश फैलाए, र करिब ४० भाषामा ४० हजारभन्दा बढी गीत गाएर अमूल्य योगदान पुर्याए।
उनीहरूको अनुसार, गर्गको निधन केवल असमको क्षति मात्र नभई सम्पूर्ण राष्ट्रकै सांस्कृतिक धरोहर गुमाउनु हो। यही सन्दर्भमा, राज्यभर श्रद्धाञ्जली सभा, दिपप्रज्वलन र प्रार्थना कार्यक्रमहरू आयोजना गरिने बताइएको छ।
गोर्खा समाजका नेताहरूले अपील गर्दै भनेका छन्, “धार्मिक पूजा–अर्चनामा कुनै रोक छैन, तर मनोरञ्जनात्मक कार्यक्रम रोक्नु नै उनको सम्मान हुनेछ।” साथै, दुर्गा पूजा समितिहरूलाई श्रद्धाञ्जलिका रूपमा जुबिन गर्गका गीतहरू बजाउन आग्रह गरिएको छ।